अपराध प्रहरीद्वारा ६ जनालाई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको आरूघाट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपलिका–१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुरको बेलौरी नगरपालिका–३ घर भई काठमाडौंको टोखा नगरपालिका–३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौंको कीर्तिपुर नगरपालिका–६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार रहेको विज्ञप्तिमा उल्लेख छ ।

धादिङको निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ घर भई काठमाडौंको बुढालिकण्ठ नगरपालिका–८ बस्ने ४० वर्षीय ललितबहादुर ईवारम र ३३ वर्षीय दीपेश सुब्बा लिम्बु रहेको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पक्राउमध्ये सरूले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपियाँ, जेम्सले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपियाँ, रेखाले जापान पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १३ लाख २ हजार रूपियाँ ठगी गरेको अभियोग छ ।

रविले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपियाँ तथा ललित र दीपेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५३ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2025 March 11, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया