निजामती विधेयकमा सहमति नजिक, सह–सचिवको बढुवाबारे निष्कर्षमा छौं : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकलाई चालु अधिवेशनमा लैजाने गरेर छलफल भइरहेको बताएका छन् ।

शनिबार सिंहदरबारमा बसेको समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले विधेयकमा करिव–करिव सहमतिको नजिक पुगिएको बताए । उनले सहसचिवमा फ्रि कम्पिटिशनबाट आउने विषयमा समितिका सदस्यहरू सहमतिको नजिक पुगिएको बताए ।

उनले भने, ‘निजामती विधेयकका विषयमा छलफल गरेका छौँ । निजामती विधेयकमा हामी अन्तिम निष्कर्षमा पुग्न लागेका छौँ । निजामती विधेयकलाई संघीयताको मोडलमा लैजान्छौँ ।’

‘सह–सचिवलाई फ्रि कम्पिटिशनबाट आउने विषयले त्यसले अलिकता प्रमोशनमा असर गरेको छ की भन्नेछ’, सभापति खतिवडाले भने, ‘उप–सचिव वा शाखा अधिकृतभन्दा तल नजान नदिने हो की भन्ने निष्कर्षमा पुगेका छौँ । यहि अधिवेशनमा ल्याउने गरेर छलफल गरेका छौँ ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा सभापति खतिवडाले ५÷६ महिनापछि जान लागेको एउटा कर्मचारीको पछाडि लाग्न आवश्यक नरहेको बताए ।

उनले भने, ‘एउटा कर्मचारीको बारेमा मन्त्रिपरिषद्, प्रधानमन्त्री कार्यालय, मन्त्रालय सबै लागिरहन जरुरी छैन । हामीले राम्रो काम गरेर देखाऔँ । राम्रो काम गर्न नसके पनि नराम्रो काम नगरौँ ।’

‘अहिले एउटा कर्मचारीलाई ५÷६ महिना बाँकी छ । यसैको पछाडि बिहानदेखि बेलुका संसदमा जाउ त्यही कुरा, बाहिर जाउ त्यही कुरा, अर्को ठाउँमा जाउ त्यही कुरा त्यो गर्नु मैले चाहिँ उपयुक्त देखेको छैन’, सभापति खतिवडाले भने ।

‘काम राम्रो गर्ने हो भने जुनसुकै पार्टीको मान्छेलाई समर्थन गरौँ । काम नराम्रो गर्छ भने मेरो पनि विरोध गर्नुपर्छ’, उनले भने ।

‘जुहारी खेल्ने विषय होइन । कसैले प्रतिष्ठाको विषय बनाउनु पनि हुँदैन । प्रतिपक्षले पनि बनाउनु हुँदैन । सत्ता पक्षले पनि बनाउनु हुँदैन’, सभापति खतिवडाले भने ।

Published : Saturday, 2025 March 8, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया