महिलाको क्षमता वृद्धि र किशोरीहरूको भविष्य सुनिश्चित गर्नुपर्छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालमा भएका महिला आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्ने बताएकी छिन् ।

शनिबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै डा.राणाले महिला अधिकार र समानताको सवालमा नेपालले उल्लेख्य प्रगति गरिरहेको बताइन् । उनले संविधानले संघीय संसद् तथा प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको बताइन् ।

ग्रामीण तथा सिमान्तकृत महिलाको क्षमता अभिवृद्धि गर्दै किशोरीहरूको भविष्य सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

उनले महिला सशक्तीकरणका क्षेत्रमा नेपालले महत्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको बताएकी छिन् । डा.राणाले भनेकी छिन्, ‘आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न भइरहेका छन् । त्यसलाई तोड्न सबैको सहकार्य आवश्यक छ ।’

परराष्ट्रमन्त्री डा.राणाले महिलाका लागि प्रजनन् तथा मानसिक स्वास्थ्यमा सहज पहुँचको व्यवस्था गर्नुपर्ने, आत्मनिर्भर बनाउन ऋण, प्रविधि तथा सीप विकासका कार्यक्रमहरू आवश्यक रहेको र जलवायु परिवर्तनका असरबाट महिलाहरू बढी प्रभावित भएकाले सरकार गम्भीर हुनुपर्ने बताएकी छिन् ।

डा.राणाले बेइजिङ घोषणा र कार्ययोजनाले महिला अधिकार तथा कानूनी संरक्षणका सवालमा युगान्तकारी परिवर्तन ल्याएको बताएकी छिन् । उनले नेपालका महिलाले प्राप्त अवसरलाई सफलता दिलाउन भूमिका निर्वाह गरिसकेको बताएकी छिन् ।

‘नेपाली महिला परिवार, समाज र राष्ट्रकै नेतृत्वकर्ताका रूपमा स्थापित भइसकेका छन्’, डा.राणाले भनेकी छिन्, ‘नारी अधिकारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ ।’

परराष्ट्रमन्त्री डा.राणाले नारी समानता, न्याय र हिंसा उन्मूलनको अभियानमा सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छिन् ।

Published : Saturday, 2025 March 8, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया