राज्य व्यवस्था समितिका सभापति खतिवडाद्वारा प्रहरी हेडक्वाटरको निरीक्षण र अवलोकन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिकाको प्रशंसा गरेका छन् ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण तथा अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा सभापति खतिवडाले आगामी दिनमा पनि प्रहरीको सेवा प्रवाहको स्तरलाई गुणस्तरीय बनाउँदै लैजान निर्देशन दिएका छन् ।
सभापति खतिवडाले प्रहरी विधेयक संशोधनको लागि सबै सरोकारवाला पक्षसँग समन्वय गरी यसलाई अझ जनतामैत्री एवम् प्रहरीमैत्री बनाउनका लागि वृहत रूपमा छलफल गरेर अगाडि बढाउने बताए ।
उनले प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि राज्य व्यवस्था तथा सुशासन समितिबाट सदैव सकारात्मक सहयोग र समन्वय हुने बताए ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सभापति खतिवडा र समितिका सदस्यहरूलाई प्रहरी प्रधान कार्यालय नक्सालमा स्वागत गरेका थिए ।
सभापति खतिवडा तथा समितिका सदस्यहरूले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय र डाटा सेन्टरको निरीक्षण गरेका छन् । उनीहरूले सो सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानून र मानवअधिकारको अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही कार्यसम्पादन गर्दै आएको बताए ।
उनले आगामी दिनमा उत्पन्न हुन सक्ने चुनौतीहरूको सामना गर्न र नागरिकलाई शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिवद्ध रहेको बताए ।
प्रहरी महानिरीक्षक कुँवरले विश्वमै चुनौतीका रूपमा देखा परेका अपराधका नयाँ प्रवृत्तिको पहिचान गर्दै त्यसलाई निस्तेज गर्न नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारका साथै अन्तर्राष्ट्रिय प्रहरी निकायको समन्वयलाई समेत प्राथमिकतामा राखी कार्य गर्दै आएको बताए ।
नवीनतम् चुनौतीको रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, साइबर अपराध एवम् विद्युतीय अपराध, अवैध हातहतियार ओसार पसार र आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिवद्ध रहेको उनले बताए ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया