हवाई क्षेत्र अस्तव्यस्त भयो, व्यापक सुधारको आवश्यक्ता छ : सांसद तामाङ

काठमाडौं । सांसद छिरिङ ल्हामु तामाङले नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भन्दै चिन्ता जनाएकी छिन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद तामाङले हवाई सुरक्षामा भइरहेको लापरबाहीका विषयमा उच्चस्तरीय छानविन समिति गठन गरेर अनुसन्धान गर्न माग गरिन् । उनले नेपाली हवाई उडान निकै असुरक्षित भइरहेको बताइन् ।

उनले भनिन्, ‘हिजो बुद्ध एयरको पाङ्ग्रा जनकपुरमा छुट्यो, जहाज काठमाडौंमा पुग्यो । यो सुन्दा प्लेन चढ्ने हजारौँ यात्रुको मस्तिस्कमा भुइँचालो गयो होला । मेरो पनि त्यस्तै भयो ।’

‘त्योभन्दा ठूलो कुरा प्लेन दुर्घटना हुनबाट जोगियो । ६२ यात्रुको अवस्था सकुशल रह्यो’, उनले भनिन्, ‘धन्न जनकपुर एयरपोर्टमा रहेको पाङ्ग्रा समयमा पत्ता लाग्यो । रनवेबाट हटाइयो । होइन भने अर्को खतरा हुने सम्भावना थियो ।’

सांसद तामाङले भनिन्, ‘हाम्रो हवाई क्षेत्र यत्रो निक बेवारिसे किन बन्यो ? गम्भीर चिन्ताको विषय बनेको छ । प्राविधिक पक्ष यती धेरै कमजोर छ ।’

‘कहिले प्लेन उड्डा उड्दै धुवा निस्कन्छ । कहिले पाङ्ग्रा फुस्किन्छ । कहिले उड्डा उड्दै झ्याल खुल्छ । प्राधिकरण कारणले एयरपोर्टमै ठूलो दुर्घटना हुन्छ । मानवीय र भौतिक क्षति हुन्छ । तैपनि सुधार आउँदैन’, उनले भनिन् ।

‘यो के भएको हो ? विमान दुर्घटना हुनेवित्तिकै छानविन समिति बन्छ । प्रतिवेदन आउँछ । कर्माकाण्ड हुन्छ । अवस्था भने जहाँको त्यहिँ’, सांसद तामाङले भनेकी छिन् ।

‘नेपालको न आन्तरिक हवाई सेवा सुरक्षित बन्यो । न अन्तर्राष्ट्रिय हवाई सेवा भरपर्दो बन्यो । यस्तो भद्रगोल किन ? निजी एयरको हाल यस्तो छ’, उनले भनिन् ।

‘सरकारले नेपाली प्लेनहरूलाई युरोपियन युनियनको कालोसूची हटाउने भाषण गर्दैछ । यथार्थ सरकारले भने जस्तो छैन । हवाई क्षेत्र अस्तव्यस्त भयो । अब यसको व्यापक सुधारको आवश्यक्ता छ’, सांसद तामाङले भनिन् ।

‘कमिशनको भरमा नक्कली सामान राखेर प्लेन जस्तो साधनमाथि खेलवाड गर्ने देशको पहिचान र यात्रुको जीवनसँग जोडिएको हवाई यात्रा सुरक्षित पार्नुको साटो सुपरग्लुले प्लेन टाँसेको कुरा समाचारमा आउँदा कस्तो प्रभाव पर्ला’, सांसद तामाङले भनेकी छिन् ।

Published : Friday, 2025 March 7, 2:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया