लुम्बिनीमा शनिाबर ४ हजार दीप प्रज्जवलन गरिने

लुम्बिनी । लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ ।

५ सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला फागुन २४ गते शनिबार राति लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिन लागेको छ ।

धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका ५ सय जना कुलपुत्रहरूको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले बताए ।

धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताएका छन् । उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामि वर्ष यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउने बताए ।

दीप प्रज्वलनमा भिक्षु भिक्षुणी, लामा, आनी, उपासक उपासिका सहित विभिन्न देशबाट आएका पाहुनाहरूको सहभागिता रहनेछ । दीप प्रज्वलनमा सरकारका अधिकारीहरूको समेत उपस्थिति रहनेछ ।

बौद्धमार्गीहरूमा दीप प्रज्वलनको निकै महत्व रहेकाले दीप प्रज्वलनले सकरात्मक सन्देश जाने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले बताएका छन् । उनले बुद्ध शिक्षालाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।

धम्मकायले दीप प्रज्वलनसँगै धम्मयात्राका लागि समेत विशेष तयारी गरेको छ । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोषको आयोजना तथा बौद्ध समाज नेपाल सह–आयोजनामा आगामि चैत २ गते शनिबार भैरहवामा बुद्धको अस्तीधातु सहितको धम्मयात्रा गर्ने हुने भएको छ ।

धम्मयात्रामा लुम्बिनीमा भइरहेको ५ सय जना प्रवजित अल्पकालीन भिक्षुहरू, भन्तेहरू सहभागी हुनेछन् । भैरहवाको रंगशालादेखि बुद्धचौको लुम्बिनीगेटसम्म धम्मयात्रा हुनेछ ।

सोही दिन विहान देवदह, बुटवल, रामग्राममा पनि धम्मयात्रा हुनेछ । चैत ३ गते प्रमाणपत्र वितरण, चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् । लुम्बिनीमा अहिले ५ सय जनाको प्रवज्या र चौथौ अन्तर्राष्ट्रिय त्रिपिटक वाचन भइरहेको छ ।

मायादेवी मन्दिर परिसरमा २० गते ५ सय जनालाई चिवर प्रदान गरी प्रवजित गराइएको हो भने बुधबार मात्रै त्रिपिटक पाठ समारोहको शुभारम्भ गरिएको हो ।

Published : Thursday, 2025 March 6, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया