माओवादीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष लागुऔषध कारोबारमा दोषी ठहर

भैरहवा । नवलपरासी जिल्ला अदालतबाट नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् ।

मंगलबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुईजनालाई लागुऔषधमा कसूर ठहर गरेको हो । कसूर ठहर हुनेमा रघुनाथप्रसाद धोबी छन् । धोबी गाउँपालिकाका नगर प्रहरी हुन् । गुप्ता नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् ।

अध्यक्षसहित धोबीलाई कसूर ठहर गरे पनि सजाय निर्धारणका लागि भने फागुन २९ गते पेसी तोकिएको अदालतका सूचना अधिकारी भेषराज खनालले बताए । २६ असोज ०७९ मा दायर भएको मुद्दाको फैसला मंगलबार भएको हो ।

गाउँपालिका अध्यक्ष गुप्तालाई दोषी ठहर गरे पनि सजाय तोक्न भने बाँकी रहेको अदालतका सूचना अधिकारी भेषराज खनालले बताएका छन् ।

सोही मुद्दाका दोषी नगर प्रहरी धोबी २६ असोज ०७९ देखि पुर्पक्षका लागि थुनामा छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सूचना अधिकारी नारायण थापाले धोबी थुनामा रहेको बताए ।

उक्त मुद्दाका अन्य दुईजनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा रामा गुप्ता भन्ने रामा साह र जितेन्द्र पासवान छन् । उनीहरू भारतीय नागरिक हुन् ।

अभियोग लागेका पाल्हिनन्दन गाउँपालिका–३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन् ।

Published : Thursday, 2025 March 6, 9:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया