कुटनीतिका माध्यमबाट खेलको विकास र विस्तार गर्न सकिन्छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले कुटनीतिका माध्यमबाट खेलको विकास र विस्तार गर्न सकिने बताउँदै साहसिक खेलको विकास गर्न सकिए यो संसारकै लागि आकर्षणको केन्द्र बन्ने बताएकी छिन् ।
शनिबार ललितपुरको सातदोबाटोमा नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा सञ्चालित चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पुरस्कार वितरण कार्यक्रममा डा.राणाले नेपालमा साहसिक खेलका माध्यमबाट खेल कूटनीतिको विकास र विस्तार गर्न सकिने सम्भावना आफूले देखेको बताइन् ।
उनले हिजोआज खेलकुदको आकर्षण र महत्त्व विश्वव्यापी बढ्दै गइरहेकाले नेपालका हिमाल, पहाड, नदी तथा खोलाहरू साहसिक पर्यटनका लागि संसारमै प्रख्यात रहेकाे बताएकी छिन् ।
अक्टोबरमा कतारको दोहामा आयोजना भएको एसीडीको तेस्रो सम्मेलनमा खेल कूटनीतिलाई प्रमुख विषयका रूपमा राखिएको उनले बताइन् । उनले भनिन्, `कुटनीतिबाट पनि खेलको विकास गर्न सकिन्छ भन्ने कुरा मैले त्यहाँ बुझेँ र त्यहाँ उपस्थित धेरै देशका विदेशमन्त्रीहरुले विभिन्न खेलको नाम लिँदा मैले नेपालमा माउन्टनेयरिङ र ह्वाइट वाटर र्याफ्टिङको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छु ।´
नेपाल फर्किएर यस विषयमा आफूले खेलकुद क्षेत्र र सरकारी निकायका अधिकारीसँग बैठक गरी नेपालमा माउन्टनेयरिङ र ह्वाइट वाटर र्याफ्टिङको विकास र विस्तारको सम्भावनाका बारेमा पनि कुराकानी गरिसकेको परराष्ट्रमन्त्री डा. राणाले बताइन् ।
नेपालले विश्वका पर्यटकलाई यस क्षेत्रमा आकर्षित गरी साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तार गर्न सकिने भएकाले यस विषयमा नेपाली कांग्रेस र पार्टीको खेलकुद विभागमा पनि व्यापक मात्रामा छलफल गर्नुपर्ने उनले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा. राणाले नेपालामा साहसिक खेलकूदहरू विशेषगरी माउन्टनेयरिङ, र्याफ्टिङ आदिमा विश्वका पर्यटककै रुचि बढ्दो देखिएको र यी क्षेत्रमा तालिम एवं कोर्षको व्यवस्थासमेत रहेकाले यसका माध्यमबाट पनि पर्यटक भित्र्याउन सकिने बताएकी छिन् ।
नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक सम्पदाका कारण नेपालमा रहेको साहसिक खेलको सम्भावनालाई विश्वमै उजागर गर्न आवश्यक रहेको पनि उनले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले कृष्णप्रसाद भट्टराइजस्तो नेपालमा प्रजातन्त्र र नागरिक शासनका लागि जीवन आहुति दिएका सन्त नेताको नाममा खेल प्रतियोगिता राखेकामा सो आयोजकहरूलाई धन्यवाद दिएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणालाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनसहितका खेलाडीहरूले भव्य स्वागत गरेका थिए ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया