नेपालको प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

काठमाडौं । नेपालको प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालतल पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारजनले बताएका छन् । उनको शुक्रबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका छोराहरू डा. सुजनराजा श्रेष्ठ र सुमनराजा श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ सर्वोच्च अदालतमा ३ वैशाख २०६१ मा नियुक्त भई २० जेठ २०६५ मा अवकाश लिएकी थिइन् । सर्वोच्च अदालतमा पदस्थापन हुनुअघि उनी उच्च अदालत राजविराजमा कार्यरत रहेकी थिइन् ।

लेखन कुञ्जले उनको आत्मकथा ‘शारदा श्रेष्ठ ः नेपालको प्रथम महिला न्यायाधीश’ प्रकाशन गरेको थियो । उनको आफ्नो जीवनयात्रा र न्यायिक क्षेत्रमा भोगेका रोचक अनुभवहरू रहेका छन् । उनको अर्को रचना ‘शंकरमान श्रेष्ठ र मेरो परिवार’ नामक पुस्तक शुक्रबार मात्रै प्रकाशित भएको छ । उनले आफ्नो रचना देख्न पाइनन् । शुक्रबार प्रकाशन हुँदैछ भन्ने जानकारी भने उनलाई थियो ।

श्रेष्ठको आत्मकथामार्फत नयाँ पुस्तालाई दिएको प्रेरणा र ज्ञान अमूल्य रहनेछ । उनी एक कुशल न्यायाधीश मात्र नभई, एक प्रतिभाशाली, चेतनशील लेखिका, प्रेरक व्यक्तित्व र समाजसेवी पनि थिइन् ।

श्रेष्ठको निधनले नेपालको न्यायिक, साहित्यिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति भएको छ । यस दुःखद् घडीमा लेखन कुञ्ज परिवारले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

Published : Friday, 2025 February 28, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया