ललितपुर खेलाडी उत्पादन गर्ने लिड जिल्ला, खेलकुदलाई बागमतीले लिड गर्नुपर्छ : सभापति बानियाँ

सातदोबाटो । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले खेलकुदको क्षेत्रमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनबाट भएको योगदानको प्रशंसा गरेका छन् ।

शुक्रबार सातदोबाटो, ललितपुरमा चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रव्यापी कराते प्रतियोगिता २०८१ लाई सम्बोधन गर्दै बानियाँले मन्त्री नहुँदा पनि मीनकृष्ण महर्जनले साथीभाइलाई समेटेर राष्ट्रियस्तरका ठूला ठूला प्रतियोगिता गर्दै आएको बताए । उनले ललितपुरलाई खेलकुदको लिड जिल्ला भनेका छन् ।

उनले भने, ‘युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनजीले भन्नुभयो समग्र बजेटको दश प्रतिशत खेलकुदमा छुट्टाउने भन्नुभयो । दश प्रतिशत बजेट एकदमै जायज हो ।’

‘प्रदेशको बजेट ७० अर्बको हुन्छ भने ६/७ अर्ब खेलको विकासका लागि छुट्टाउँदा के बिग्रिन्छ ?’, सभापति बानियाँले प्रश्न गर्दै भने, ‘मीनकृष्णजी आदरणीय नेता शेरबहादुर देउवा, म बागमती प्रदेशको सभापति र हाम्रो प्रदेशको मुख्यमन्त्री स्वयंले मीनकृष्ण महर्जनजीलाई खेलकुदमन्त्री बनाउने भनेर बनाएको हो ।’

उनले भने, ‘एउटा खेलाडी जसले खेल बुझेको छ । खेलाडी चिनेको छ । खेल र खेलाडी चिनेकै कारणले खेलकुद जानेको, बुझेको विधाबाट आएको मान्छेलाई बागमती प्रदेशको संघीय संरचनामा जाँदा विकास खेलको कसरी गर्ने ? देशको सात वटा प्रदेशको प्रदेशमध्ये बागमती प्रदेश लिड प्रदेश हो ।’

‘लिड प्रदेशको खेलकुदमन्त्री लिड हुनुपर्छ । राम्रो काम गरेर बागमती प्रदेशले देशका साथै विदेशमा गएर खेलाडी उत्पादन गरेर जित हासिल गरेर पदक ल्याउन सक्ने त्यो क्षमता हुनुपर्छ’, सभापति बानियाँले भने, ‘सात वटा प्रदेशमा यो प्रदेशको बजेट दुई गुणा ठूलो छ ।’

सभापति बानियाँले भने, ‘खेलकुद मन्त्रालय अलग बनाएर विधेयक संसदमा लगेर मन्त्री एक्टिभ भएर खेलकुदको सम्पूर्ण गतिविधि खेलकुद मन्त्रालयले गर्ने गरि ल्याएको छ ।’

सभापति बानियाँले संघका युवा तथा खेलकुदमन्त्री तेजुलार चौधरीलाई आफ्नो क्षेत्राधिकारभन्दा बाहिर नजान सचेत गराएका छन् । संविधानअनुसार सबैले आ–आफ्नो अधिकार प्रयोग गर्नुपर्ने बानियाँले बताएका छन् ।

‘संघीय खेलकुद मन्त्रालयका मन्त्रीलाई पनि म के आग्रह गर्न चाहन्छु भने प्रदेशका गतिविधि देशको संविधानले दिएको अधिकारमाथि हस्तक्षेप गर्न बन्द गरौँ’, सभापति बानियाँले भने ।

‘तीन तहको सरकार छ । परिकल्पना संविधानले गरेको छ । आ–आफ्नो अधिकारलाई सुरक्षित राखेर आ–आफ्नो कार्यक्षेत्रमा काम गर्ने हो’, उनले भने ।

‘हस्तक्षेपले यो व्यवस्था, गणतन्त्र, संघीयता, समावेशी र प्रतिस्पर्धालाई कमजोर बनाउँछ । प्रदेश भनेको विकास पनि प्रतिस्पर्धा पनि हो’, उनले भने ।

सभापति बानियाँले गोदावरी नगरपालिकामा स्व.कृष्णप्रसाद भट्टराईको नाममा कर्भड हल बनाइने बताए । उनले आउने आर्थिक वर्षमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भनेअनुसार बजेटको व्यवस्था हुने बताएका छन् ।

‘गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनजीले डीपीआर बनेको छ, नेता कृष्णप्रसाद भट्टराई स्मृति कर्भड हल बनाउँदै छौँ भन्नुभएको छ । हामी पनि केही पैसा राख्छौँ भन्नुभएको छ । आउँदो आर्थिक वर्षमा प्रदेशले विशेष बजेट राख्छ । ढुक्क हुनुस्’, सभापति बानियाँले भने ।

उनले भने, ‘ललितपुर भनेको खेलाडी उत्पादन गर्ने लिड जिल्लाको रुपमा छ । कहिले विनोद महर्जनले खेलकुदको महोत्सव चलाइरहेका हुन्छन् । कहिले दीपक श्रेष्ठले करातेको प्रतियोगिता गरिरहेका हुन्छन् । मीनकृष्णजीले कहिले वीर गणेशमान सिंह किक बक्सिङ प्रतियोगिता गरिरहनुभएको हुन्छ । मन्त्री नहुँदा पनि मीनकृष्णजीले साथीभाइलाई समेटेर खेलकुद प्रयोगिता गर्दै आउनुभएको छ । मीनकृष्ण महर्जनजी अब आउने कार्यकालको बजेटमा खेलकुदमा बजेट छुट्टाउनु हुनेछ ।’

‘मीनकृष्णजी राजनीतिभन्दा फरक क्षेत्रबाट आउनुभएको छ । खेलबाट आएर, अनुशासन, मर्यादा र आफू पनि त्यो विधाबाट आएर राजनीतिमा आउनुभयो’, उनले भने ।

‘खेलाडी राष्ट्रको पहिचान हो । खेलाडी राष्ट्रको गहना होइन, पहिचान हो । शान हो । चाहे प्रदेशको होस्, पालिकाको होस् वा संघको होस्’, सभापति बानियाँले भनेका छन् ।

Published : Friday, 2025 February 28, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया