खेलाडीले परिवारपाल्न सक्ने बनाउन सकियो भने नेपाललाई खेलकुदबाट चिनाउन सकिन्छ : खेलकुदमन्त्री महर्जन

सातदोबाटो । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद र खेलाडीहरूको विकासका लागि सरकारको समग्र बजेटको दश प्रतिशत खेलक्षेत्रमा छुट्टाउनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरको सातदोबाटोमा चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता २०८१ लाई सम्बोधन गर्दै मन्त्री महर्जनले दश प्रतिशत बजेटले नेपाललाई विश्वभरि खेलकुदको क्षेत्रबाट चिनाउन सकिने बताए ।

उनले भने, ‘साफ गेम र एशियन गेममा पदक लिएका खेलाडीहरू अहिले राष्ट्रले खेलकुदलाई बेवास्ता गरेको कारणले गर्दा राष्ट्रले खेलकुदलाई प्राथमिकतामा नराखेको कारणले गर्दा सेलिब्रेटी खेलाडीहरू विदेश पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ ।’

‘खेलाडीहरूलाई स्वदेशमा जीविकोपार्जन गर्ने तरिकाले राज्यले धेरै नभए पनि सरकारको बजेटको दश प्रतिशत खेलकुदमा लगानी गर्ने हो भने नेपाललाई खेलकुदको माध्यमबाट विश्वमा चिनाउन सकिन्छ’, मन्त्री महर्जनले भने ।

उनले भने, ‘हाम्रा खेलाडीमा जोश र जाँगर छ । बलिया छन् । खेलाडीहरूको परिस्थिति कस्तो भइरहेको छभने । अहिले हामीले राष्ट्रिय गेम गरिरहेका छौँ ।’

‘स्वर्ण पदक ल्याउँछ । राष्ट्रिय गेममा स्वर्ण पदक ल्याउँछ । प्रोफाइल बनाउँछ । त्यसपछि राम्रो देशको भिषा लगाउँछ’, उनले भने, ‘खेलाडीहरू विदेश भासिनुपर्ने बाध्यता सिर्जना भएको छ ।’

मन्त्री महर्जनले भने, ‘खेलाडीको उच्च सम्मानको लागि सरकारले कमसेकम खेलाडीहरूले आफ्नो परिवारपाल्न सक्ने परिस्थिति बनाउन मात्रै सकियो भने नेपाललाई खेलकुदको माध्यमबाट चिनाउन सकिन्छ ।’

Published : Friday, 2025 February 28, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया