बुद्ध र रामायण बाहेक महाभारत सर्किटको संयुक्त प्रवर्द्धन गर्ने अवसर छ : सभापति यादव

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले महाभारत सर्किटको अवधारणा अघि बढाउनुपर्ने बताएका छन् ।

भारतको नयाँ दिल्लीमा जारी ‘नेपाल–भारत सम्बन्ध र क्षेत्रीय कूटनीतिः बल र अवसर’ विषय कार्यक्रमलाई सम्बोधन गर्दै सभापति यादवले महाभारत सर्किटको अवधारणा अघि बढाउन प्रस्ताव गरेका हुन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का उपाध्यक्ष समेत रहेका यादवले बुद्ध र रामायण सर्किट बाहेक महाभारत सर्किटको महत्व रहेको बताए ।

उनले भने, ‘बुद्ध र रामायण सर्किट बाहेक महाभारत सर्किटको संयुक्त प्रवर्द्धन गर्ने अवसर पनि छ । यसको चर्चा तुलनात्मक रूपमा कम छ ।’

‘पाण्डवसँग सम्बन्धित काठमाडौं उपत्यका वरपरका महाभारतमा उल्लेख गरिएका तीर्थस्थलहरू– नेपालको विराटनगरमा रहेको राजा विराटको दरबारलाई कुरुक्षेत्र, इन्द्रप्रस्थ र हस्तिनापुर जस्ता भारतीय सहरहरूसँग जोड्न सकिन्छ, जसले दुवै देशको अर्को साझा इतिहासको रूपमा काम गर्न सक्छ’, उनले भने ।

सभापति यादवले नेपाल र भारत दुवैले व्यापार, सीमापार व्यापार विस्तार, बजार पहुँच, पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र जनताबीचको सम्बन्धलाई सहज बनाउन द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन सहयोग हुने बताए ।

उनले बौद्ध धर्म बौद्ध कूटनीतिको केन्द्रबिन्दु बन्न सक्ने र यसले नेपाल र भारतबीच साझा बौद्ध सम्पदालाई बौद्ध सर्किटमार्फत जोड्न सकिने बताए ।

Published : Wednesday, 2025 February 26, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया