पोकली जान लागेको बस दुर्घटनाका घाइतेको निःशुल्क उपचार होस् : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले काठमाडौंबाट ओखलढुङ्गा जाने क्रममा दुर्घटना भएर घाइते भएका सबै यात्रुको निःशुल्क उपचारको माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले आकस्मिक समय लिएर बोल्दै सरकारले घाइतेहरूको निःशुल्क उपचार गर्नुपर्ने बताए । उनले आजैका मितिदेखि दुर्घटनामा परेको यात्रुको निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने उनले सरकारसँग आग्रह गरेका छन् ।

खतिवडाले भने, ‘काठमाडौंबाट ओखलढुङ्गा लिखुको पोकली हिँडेको अरनिको बस धुलिखेल नगरपालिका अन्तर्गत काभ्रेभञ्ज्याङ्गमा दुर्घटनाग्रस्त भएको छ । प्रदेश ३–०१–०५ ख १९४२ नम्बरको अरनिको बस दुर्घटना हुँदा बसमा यात्रा गर्ने २४ जना यात्रुमध्ये १७ जना घाइते भएका छन् । धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।’

‘म सरकारसँग अनुरोध गर्न चाहन्छु । घाइते बिरामीहरूलाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था गरोस् । घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु’, सांसद खतिवडाले भने ।

उनले भने, ‘बेलाबेला सडक दुर्घटनाबाट मान्छेहरू घाइते भएर आउने । सबै बेहाल भएर, नाङ्गै, लुगा समेत नभएर हस्पिटल पुग्ने । हस्पिटलमा करोडौं बिल उठ्ने र बसधनीले समेत उपचार नगर्ने व्यवस्था अन्त्यका लागि यस्ता दुर्घटनाग्रस्त सम्पूर्ण बिरामीलाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु ।’

‘यो घटनासँग सम्बन्धित मात्रै होइन । सम्पूर्ण दुर्घटनामा परेका बिरामीहरूलाई सरकारले निःशुल्क ल्याएर हस्पिटलमा उपचार गर्ने व्यवस्था अबदेखि गरोस् भनेर माग गर्न चाहन्छु’, सभापति खतिवडाले भने ।

घरमै राष्ट्रिय परिचयपत्र दिइयोस्

सभापति खतिवडाले ७० वर्षभन्दा माथि उमेर पुगेका जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र लागू नगर्न आग्रह गरेका छन् । उनले लागू गर्नै पर्दा राष्ट्रिय परिचयपत्र घरमा पुगेर वितरण गर्ने व्यवस्था हुनुपर्ने माग गरे ।

उनले भने, ‘अहिले देशव्यापरी रुपमा राष्ट्रिय परिचयपत्र लागू गरिएको छ । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र लागू गर्दा ७० वर्षभन्दा माथिक जेष्ठ नागरिकलाई या राष्ट्रिय परिचयपत्र लागू नगरियोस् ।’

‘वहाँहरूलाई लागू गर्ने अवस्था सिर्जना भयो भने प्रत्यके पालिकाको प्रत्येक वडामा नै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था सम्बन्धित वडाले घरघरमा गएर दिने व्यवस्था सरकारले गरिनुपर्छ’, सभापति खतिवडाले भनेका छन् ।

Published : Tuesday, 2025 February 25, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया