परराष्ट्रमन्त्री डा.राणाद्वारा सुरक्षा परिषदको अस्थायी सदस्यमा सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारसँग आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच भेटवार्ता भएको छ ।

सोमबार स्वीट्जरल्याण्डको जेनेभामा डा.राणा र क्यासिसबीच साइडलाइन भेटवार्ता भएको हो । उनीहरूका बीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ड.राणाले नेपालको आर्थिक सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्वीट्जरल्याण्ड सरकारको सहयोग तथा सदभावका लागि धन्यवाद दिएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषदको सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि स्वीट्जरल्याण्ड सरकारसँग आग्रह गरेकी छिन् ।

डा.राणाले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर मुख्य शीर्षकमा सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायलाई सामेल गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि स्वीट्जरल्याण्ड सरकारलाई आमन्त्रण गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रुपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई पर्नसक्ने आवश्यक सहयोगका लागि स्वीस् सरकारलाई आग्रह गरेकी छिन् ।

Published : Monday, 2025 February 24, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया