माण्डवीमा ‘थारो’ भनेपछि रामबहादुर र हुकुमाको हत्या

खलंगा । दुई जना वृद्धाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय प्यूठानले एकजनालाई पक्राउ गरेको छ ।

फागुन १० गते दिउँसो १२ः३० बजेको समयमा प्यूठानको माण्डवी गाउँपालिका वडा नं. २ रातापानी बस्ने वर्ष ६० को रामबहादुर परियार र उनकी श्रीमती वर्ष ५६ की हुकुमा परियारको शव भेटिएको थियो ।

आफ्नै घरमा सुतेको र नउठेको भनि छिमेकीले टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए । घटनाको जानकारी हुनासाथ प्यूठान प्रहरीका प्रमुख (डीएसपी) दीपेश बस्यालको कमाण्डमा विशेष अनुसन्धान टोली खटिएको विज्ञप्तिमा उल्लेख छ ।

घटनास्थलको प्रारम्भीक अनुसन्धान गर्दा परियार दम्पत्तिको हत्या भएको खुल्न आएको थियो । हत्यामा संलग्न रहेको अभियोगमा माण्डवी गाउँपालिका वडा नं.२ रातापानी बस्ने वर्ष ३४ को पंकज परियारलाई फागुन ११ गते बिहान ११ः३० बजेको समयमा पक्राउ गरिएको डीएसपी बस्यालले बताए ।

पंकज परियारलाई प्यूठान जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको छ ।

अनुसन्धानको क्रममा रामबहादुर र हुकुमाको टाउकामा प्रहार गरेर हत्या गरेको देखिएको थियो । प्रहरीले घरबाट करिब ५० मिटर टाढा रगत लतपतिएको घन फेला पारेको पत्रकार सम्मेलनमा डीएसपी बस्यालले बताएका छन् ।

मृतक परियार दम्पतीका चार छोराहरू रहेकोमा सबै जना वैदेशिक रोजगारीमा भारतमा छन् । तीन छोरीहरू पनि विवाह गरेर दाङमा बस्दै आएका छन् । घरमा परियार दम्पती मात्रै बस्दै आएका थिए ।

पंकज परियारले आफ्नै काकाको हत्या गर्नुमा विवाह सम्बन्धी विषय रहेको डीएसपी बस्यालले बताएका छन् । करिब एकहप्ता अगाडि पंकज परियारलाई रामबहादुर परियार र हुकुमा परियारले अहिलेसम्म पनि विवाह गर्न नसकेको थारो भनेका कारण हत्या भएको डीएसपी बस्यालले बताएका छन् ।

थारो भनेको रिसइबीको झोँकमा पंकज परियारले हत्या गरेको देखिएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको छ ।

पंकज परियारले हत्याका क्रममा अत्यधिक रक्सी सेवन गर्ने गरेको पनि खुलेको छ । रक्सी सेवन गरेर ९ गते राति साढे १० बजेतिर काकाको घरमा पुगेका थिए । दोस्रो तलाको झ्यालबाट प्रवेश गरी भ¥याङबाट भुईंतलामा झरेको उनले प्रहरीसमक्ष बयान दिएका छन् । हत्यापछि पंकजले हुकुमाको पोटुकामा रहेको २२० रुपियाँ पनि लगेका थिए । पंकजले २०० रुपियाँ खर्च गरिसकेका छन् । पंकजको साथबाट प्रहरीले २० रुपियाँ बरामद गरेको छ ।

Published : Sunday, 2025 February 23, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया