यूएईमा जनसम्पर्क समितिको कार्यक्रम, कांग्रेस नेताहरू सहभागी

यूएई । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति यूएईले ७५औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार यूएईमा कांग्रेसका केन्द्रीय कोषाध्यक्ष तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, महामसमिति सदस्य आशिष शर्माको आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको समितिका सभापति भुवानीप्रसाद तिमिल्सिनाले बताएका छन् ।

कांग्रेसका कोषाध्यक्ष श्रेष्ठले आफू दक्ष रहेको क्षेत्रमा मिशन र भिजनका साथ काम गरेमा सफलता प्राप्त गर्न सकिने बताएका छन् । उनले भने, ‘म गाउँबाट काठमाडौं आएर डेरा बसेर काम सुरु गरेँ । आज १०० भन्दा बढी कम्पनीको मालिक बनेको छु ।’

‘मेरो सफलताको पछाडि मेरो मिशन र भिजन थियो’, पूर्व राज्यमन्त्री श्रेष्ठले भनेका छन् । उनले आफूले कार्यसम्पादन गर्ने काममा दक्ष हुनुपर्ने बताए ।

कांग्रेसका कोषाध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा उत्पादित अर्गानिक चिया, अदुवा, बेसार, अलैंची जस्ता सामग्रीहरूको निर्यातले न केवल नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याउँछ, बरु यस्ता अर्गानिक खाद्य वस्तुहरूको यूएईमा ठूलो माग छ ।’

‘अर्गानिक उत्पादनको मागबाट नेपालका व्यवसायीलाई पनि फाइदा हुनेछ । देशको समृद्धिमा योगदान पुग्नेछ’, श्रेष्ठले भने, ‘मैले सकेको सहयोग पु¥याउने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।’

कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य आशिष शर्माले विदेशमा रहेर पनि कांग्रेसप्रति माया, प्रेम, सद्भाव राख्नेहरूप्रति आभार प्रकट गरेका छन् । उनले यूएईमा जनसम्पर्क समितिले बोलाएर आफूहरूलाई कार्यक्रममा सहभागी हुने अवसर दिएको भन्दै धन्यवाद दिएका छन् ।

नेपालबाट कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिका रुपमा आएका कांग्रेसका नेताहरूप्रति समितिले कृतज्ञता प्रकट गरेको छ । पाहुनाहरूलाई समितिका पदाधिकारी र सदस्यहरूले स्वागत तथा सम्मान गरेका छन् ।

कांग्रेसका कोषाध्यक्ष श्रेष्ठले व्यक्तिगत भ्रमणको क्रममा पनि नेपाली जनसम्पर्क समिति यूएईलाई सम्झेर माया र समर्थन गरेको भन्दै धन्यवाद व्यक्त गरेको सभापति तिमिल्सिनाले बताए ।

कार्यक्रममा समितिका संरक्षक खेमराज बस्नेत, प्रमुख सल्लाहकार मनोजकुमार श्रेष्ठ, कांग्रेसको महासमिति सदस्य आशिष शर्मा लगायतको उपस्थिति रहेको थियो ।

नेपाली प्रवासी मञ्च यूएईका अध्यक्ष बाबुराम सापकोटा, जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका अध्यक्ष विकास शाही, नेपाली समाज यूएईका प्रमुख सल्लाहकार बेदप्रसाद अर्याल लगायतका वक्ताहरूले ७५औं प्रजातन्त्र दिवसको शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली जनसम्पर्क समिति यूएईका सहमहामन्त्री तुल्सीराम भुसालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Published : Thursday, 2025 February 20, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया