मन्त्री आउनेवित्तिकै कसैलाई थर्काउन र तर्साउन प्रहरी प्रयोग हुनु हुँदैन : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रहरीको ७० वर्षदेखिको कानूनलाई संशोधन गर्न लागेको भन्दै प्रहरी समय सापेक्ष हुने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाल प्रहरी कानूनलाई संशोधन गर्न तथा एकीकरण गर्न बनेको विधेयकमाथिको प्रारम्भीक छलफलमा भाग लिँदै सांसद खतिवडाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल एउटै प्रकारको हुन नहुने बताए । उनले दक्षिण एशियामा सबैभन्दा उत्कृष्ट रहेको नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेपले क्षति भएको बताए ।
उनले भने, ‘नेपालमा प्रहरीको भूमिका अत्यन्तै सह्रानीय छ । कतिपय घटना बाहेक, कहिले काहीँ एउटा, दुई वटा घटनाहरू पनि भएका छन् । एउटा च्याप्प समात्ने फुली लगाइदिने भोलिपल्ट अर्कोलाई पठाइदिने पद्धति पनि विगतमा देखिएका छन् । यो परम्परालाई रोक्नुपर्ने जरुरी थियो ।’
‘कानून सम्मतरुपमा, नियम संगत रुपमा प्रहरीलाई स्वविवेकीय अधिकार प्रयोग भन्दा पनि स्वचालित रुपमा सञ्चालन गर्ने पद्धतिको विकास गराउन आजको आवश्यक्ता हो’, उनले भने, ‘मन्त्रीको इच्छाअनुसार चल्ने पद्धतिको विकास भयो भने कानूनअनुसार प्रहरी चलेको देखिदैन । २०१२ सालमा निर्माण गरेको कानून परिवर्तन आवश्यक्ता थियो ।’
सभापति खतिवडाले भने, ‘कतिपय अवस्था प्रहरीको मनोवल गिराएर राजनीतिक नेतृत्वले आफ्नो स्वार्थअनुसार प्रहरीलाई परिचालन गर्ने पद्धतिको विकास भएको थियो । यसलाई कानून सम्मत रुपमा लैजानको लागि विधेयक आएको छ ।’
उनले भने, ‘नेपाल प्रहरी हिजोका दिनमा कतिपय घटनामा साउथ एसियाकै सबैभन्दा उत्कृष्ट प्रहरीको रुपमा स्थापित भएको थियो । कहिले काहीँ मन्त्रीहरूले आफ्नो इच्छाअनुसार प्रहरीलाई हाइजम्प र लमजम्प गर्ने पद्धतिको विकास भयो ।’
‘सिनियरलाई नगर्ने जुनियरलाई गर्ने । कार्य दक्षता र योग्यतालाई नगर्ने त्यसलाई पनि चाकडीलाई गर्ने परम्परा विकास भयो’, सभापति खतिवडाले भने, ‘त्यसलाई अन्त्य गर्नका लागि पनि कानून ल्याउनुपर्ने जरुरी थियो । दक्षता र जेष्ठतालाई पनि मानेर काम गर्ने शैलीलाई मानेर प्रमोशनको पद्धतिमा लैजानुपर्ने थियो ।’
उनले भने, ‘नेपाल प्रहरी कोही मन्त्री आउनेवित्तिकै कसैलाई थर्काउन र तर्साउन प्रयोग गर्ने पद्धतिको अन्त्य होस् । कहिले सीआईबीका नाममा गरेका कामहरू, उत्कृष्ट छन् ।’
‘अझ राम्रो काम गर्नका लागि हामीले मनोवल उच्च बनाउने कामका लागि प्रयत्न गर्नुपर्छ’, खतिवडाले भने, ‘प्रहरीलाई मन्त्री र सरकारको दासका रुपमा होइन कानूनको दासका रुपमा अगाडि बढाउने पद्धतिको विकास भयो भने नेपालको प्रहरी अझै अगाडि जानेछ ।’
सभापति खतिवडाले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई एकैखालको बनाएर लैजाने पद्धतिको अन्त्य होस् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत गरेर, सबैलाई एकआपसमा समन्वय गरेर अगाडि जानका लागि यो कानून निर्माण गर्नुपर्छ ।’
उनले भने, ‘झण्डै ७० वर्ष पछाडि नेपाल प्रहरीलाई अझै सुव्यवस्थित बनाउने । जनताको सारथीको रुपमा विकास गर्ने, कानून सम्मत रुपमा हिँडाउने, कानूनी राज्यको स्थापनाका लागि अगाडि बढाउने उदेश्यका साथ नेपालको संविधानअनुसार यसलाई संसदमा संशोधन गरेर विधेयक ल्याउनु भएकोमा गृहमन्त्री र नेपाल सरकारलाई धन्यवाद दिन्छु ।’
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया