इरानले विपिन जोशीको रिहाइमा हमाससँग कुरा गर्ने, डा.राणासँग जापानका राज्यमन्त्रीद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच भेटवार्ता भएको छ ।
सोमबार ओमनको मस्कटमा आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका क्रममा डा.राणा र इरानका विदेशमन्त्री अब्बासबीच भेटावर्ता भएको हो । उनीहरूका बीच नेपाल–इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइमा सहयोग गर्न अब्बाससँग आग्रह गरेकी छिन् ।
इरानका विदेशमन्त्री अब्बासले हमासका अधिकारीहरूसँग आफूले विपिन जोशी रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका छन् । इरानका विदेशमन्त्री अब्बासले विपिन जोशीलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने आश्वासन दिएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
यसैबीच, परराष्ट्रमन्त्री डा.राणा र जापानका विदश राज्यमन्त्री मियाजी ताकुमाबीच पनि भेटवार्ता भएको छ । डा.राणा र जापानका राज्यमन्त्री ताकुमाबीच मस्कटमा सोमबार भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल–जापान सम्बन्धका विविध पक्षहरूका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालको प्रमुख दाता राष्ट्रका रुपमा जापानले लामो समयदेखि आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति परराष्ट्र राज्यमन्त्री ताकुमामार्फत जापान सरकारप्रति आभार व्यक्त गरेकी छिन् ।
नेपाल र जापानले आगामी वर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको छ ।
नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको छ ।
नेपाल र जापानले गत वर्ष सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच वर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यबिधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले नेपालमा सेप्टेम्बरमा आएको बाढीपहिरोका कारण वीपी राजमार्गमा ठूलो क्षति पुगेको भन्दै पुनर्निर्माणका क्षेत्रमा आवश्यक सहयोग गर्न जापान सरकारसँग आग्रह गरेकी छिन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया