प्रचण्ड, रवि र पूर्वराष्ट्रपति–उपराष्ट्रपतिलाई मर्यादामा बस्न कांग्रेस सांसद बस्नेतको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद जीतजंग बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुजात भनेर दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले जातीय मानमर्दन हुने गरी प्रचण्डले कुजात भनेर होच्याउने कार्य गरिएको बताए ।

उनले भने, ‘प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दा नेपाली कांग्रेस र एमाले पार्टीलाई त्यसका साथीहरूलाई कुजात भन्नुभए छ ।’

‘हामी कुन जातको प¥यौं ? मलाई त लाग्थ्यो पूर्वप्रधानमन्त्री प्रचण्ड जातजाति नमान्ने, भाषाभाषी नमान्ने, सबै जातजाति समान हुन भन्ने व्यक्तिले अभिव्यक्ति दिँदा कुजात भन्ने कुन जातमा प¥यो ? हामी कुन जातको पर्‍यौँ भनेर रुलिङ होस्’, कांग्रेसका सांसद बस्नेतले भने ।

कांग्रेसका सांसद बस्नेतले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिले लाज लाग्ने कार्य गरेको बताए । गोपनीयताको शपथ लिएर गोपनीयता भङ्ग गर्दै हिँडेको उनले बताए ।

उनले भने, ‘चित्त पनि बुझ्दैन । लाज पनि लाग्छ । पूर्वराष्ट्रपति र उपराष्ट्रपति सबैभन्दा ठूलो ओहदामा पुगेको व्यक्ति पार्टीको बैठकमा जाने, पार्टीको नेता बन्छु, अध्यक्ष बन्छु भनेर आउने । यो के हो ?’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा फर्किएकोमा आलोचना भइरहेको छ । कांग्रेस सांसद बस्नेतले उनीहरूलाई आफ्नो मर्यादा र गरिमामा बस्न सचेत गराएका छन् ।

राष्ट्रपति नबनेर खुला रुपले राजनीति गरेको भए हुने भन्दै सांसद बस्नेतले उच्च पदमा पुगेको व्यक्तिहरू गरिमा र नैतिकतामा बस्नुपर्ने बताए । उनले न्यायालयभित्रै वरिष्ठ अधिवक्ता कुटिनुपर्ने अवस्था आएको बताए ।

केही नयाँ पार्टीका नेता कार्यकर्ताले गालीगलौज गर्ने, धम्की दिने जस्ता कार्य भएको भन्दै सांसद बस्नेतले सुरक्षा निकाय कहाँ छभनेर प्रश्न गरेका छन् ।

सहकारी प्रकरणमा पीडितहरूको सुरक्षाको पनि सांसद बस्नेतले माग गरेका छन् । उनले सहकारीमा समस्या रहेको भन्दै दाषीलाई कानूनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताए । सहकारी ठगीका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नाम नलिएर कांग्रेस सांसद बस्नेतले संसद सचिवालयले नियम, कानून, संविधानअनुसार निलम्बन गरेको बताए । नयाँ पार्टी भनिएकाहरूले सडक र समाजमा अराजकता गरिरहेको भन्दै सांसद बस्नेतले सुरक्षा निकायलाई सर्तक रहन आग्रह गरेका छन् ।

यसैबीच, सांसद बस्नेतले सपथको व्यहोरा पढेरै सुनाएका छन् । सपथको व्यहोरा अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो कर्तव्य पालनको शिलशिलामा आफूलाई जानकारी आएका विषय पदमा बहाल रहँदा वा नरहँदा समेत प्रकट गर्न नहुने भनेको उनले बताए ।

‘पछिल्लो समयमा यो (सपथ)को प्रतिवद्धताले हावा खाए जस्तो छ’, बस्नेतले भने, ‘राज्यका उच्चतम तहमा पुगेर पदीय जिम्मेवार वहन गरी बाहिर आएका अधिकांश महानुभावहरूलाई पनि सस्तो लोकप्रियताको भूत चढे जस्तो छ ।’

सामाजिक सञ्जालमा चर्चित हुने भोकले पदीय मर्यादा र दायित्व कम निर्वाह भइरहेको हो कि भन्ने उनको आशंका छ । भन्छन्, ‘…सामाजिक सञ्जालमा चर्चित हुने भोकले पदीय मर्यादा, दायित्व र जिम्मेवारी कम कलाकारिता र चर्तीकलाको भूत बढी सवार भएजस्तो देखिन्छ ।’

यस्तो प्रवृत्ति गलत रहेको उनले बताए । अगाडि भनेका छन्, ‘नेपाली सेनाको प्रधानसेनापतिदेखि सर्वोच्च अदालतको प्रधानन्यायाधीश, न्यायाधीश भइसकेका कतिपय महानुभावहरूलाई आत्मकथा लेख्ने र भए/नभएका दन्त्य कथा बाहिर ल्याएर चर्चाको शिखरमा पुग्ने होडबाजीले पिरोल्दैछ आज ।’

कतिपय सम्माननीय पूर्वपदाधिकारी तथा पूर्वन्यायाधीश, पूर्वप्रधानन्यायाधीशहरू मिडिया र सामाजिक सञ्जालमार्फत अनेक विवादास्पद अभिव्यक्ति दिनमा तल्लिन रहेको उनले आरोप लगाए । तर, ती को हुन भनेर खुलाएनन् ।

न्यायिक प्रक्रिया वा अदालतमा विचाराधीन मुद्दामा समेत सामाजिक सञ्जाल र सार्वजनिक मञ्चबाट अभिव्यक्ति दिँदा त्यस्तो व्यक्तिबाट विगतमा न्याय सम्पादनमा कति निष्पक्षता रह्यो भन्ने प्रश्न समेत उठेको उनले बताए ।

यस्तो प्रवृति गलत रहेको र सपथमार्फत गरेको प्रतिवद्धता र मर्यादाको उल्लंघन रहेको उनले बताए । सबैले गोप्य सूचना बाहिर ल्याउने गरिए के होला भन्ने उनको प्रश्न छ ।

Published : Sunday, 2025 February 9, 2:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया