कुलेश्वरबाट पक्राउ परेकी अस्मितालाई थुनेर अनुसन्धान

काठमाडौं । रकम बार्गेनिङ गरेको अभियोगमा प्रहरीले २८ वर्षीया अस्मिता आचार्यलाई पक्राउ गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका वडा नं. ८ घर भई हाल काठमाडौंको १३ कुलेश्वरमा बस्दै आएकी आचार्यलाई काठमाडौं उपत्यका अपराध नियन्त्रण कार्यालयले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

आचार्यले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिसँग रकम माग गरेको विज्ञप्तिमा उल्लेख छ । आचार्यले राइस कुकर बनाउने बहानामा पटक पटक मोबाईलमा सम्पर्क गरी माग गरेअनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिने भनेर धम्की दिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी तथा परिवारमा समेत भनीदिन्छु भनेर धम्की, डर, त्रास देखाई आचार्यले पीडितलाई दश लाख दिन बाध्य बनाएको अभियोग लागेको छ ।

दश लाखमध्ये आचार्यले पीडितसँग ३ लाख चेकमार्फत अहिले दिने र बाँकी ७ लाख रकम एकहप्तामा दिने सर्तमा मोलमोलाइ भएको थियो ।

पीडितसँग रकम असुली गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोलीले माघ २२ गते अपरान्ह साढे ४ बजे आचार्यलाई कुलेश्वरबाट पक्राउ गरेको थियो ।

आचार्यविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।

पीडित भनिएका व्यक्ति र आचार्य ठमेल, सिनामंगल लगायतका स्थानमा पुगेर खाना खाएको तथा कोठामा बसेको समेत प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेका कारण विस्तृत विवरण पछि दिने जनाएको छ ।

Published : Saturday, 2025 February 8, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया