सबै दलको सहमतिमा चाँडै संविधान संशोधनको विषय अगाडि बढ्छ : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सबै दलको सहमतिमा चाँडै संविधान संशोधनको विषयलाई अगाडि बढाउने बताएका छन् ।

शनिबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले भने, ‘सरकारले सबैसँग छलफल गरी सहमतिका आधारमा संविधान संशोधन गर्ने जनाइरहेकाले सरकारले चाँडै संविधान संशोधनको विषयलाई अगाडि बढाउने विश्वास लिएको छु ।’

उनले संसदको बैठक चाँडै आह्वान हुने बताएका छन् । खतिवडाले संसद् समयमा सञ्चालन नहुँदा कतिपय विधेयक अलपत्र परेका बताए ।

सभापति खतिवडाले कतिपय विधेयकका बारेमा राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको बताए । उनले एउटा संसदपछि अर्को संसद् ६ महिनाभित्र बोलाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार यथाशीघ्र बैठक आह्वान गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘म सभापति रहेको समितिमा छलफलको क्रममा रहेको निजामती विधेयकका बारेमा सरकारको कुनै धारणा आएको छैन, निजामती कर्मचारीको उमेर ६० वर्ष राख्ने विषय छलफलका क्रममा रहेको छ, सरकारले ल्याएका कतिपय विधेयकलाई असहमति जनाउने संसद्को अधिकार हुन्छ ।’

Published : Saturday, 2025 January 11, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया