कांग्रेस नेता भण्डारीद्वारा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना दिएका छन् ।
शनिबार नेता भण्डारीले शुभकामना सन्देश जारी गरेर नेपाल एकीकरणका नायक श्री ५ बहामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिएका हुन् । उनले देश र विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
‘नेपाललाई एकीकरण गरी नेपाली जनतालाई विशेष पहिचान दिने राष्ट्र निर्माताप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु’, नेता भण्डारीले भनेका छन् ।
‘विश्वलाई साम्राज्यवादले गाजेको र छिमेकमा समेत साम्राज्यवादले आतंक मच्चाएका बेला नेपाल एकीकरण गरी नेपाल र नेपालीको स्वतन्त्र अस्तित्वलाई अक्षुष्ण राख्ने दुरगामी नेतृत्वको गाथा हाम्रा लागि सधै अविस्मरणीय रहनेछ’, उनले भने ।
‘आजको यस विशेष दिनमा पृथ्वीनारायण शाहका कालजयी दिव्योपदेशलाई मनन गर्दै नेपालको मौलिक पहिचान, सभ्यता, संस्कृति र परम्परालाई संरक्षण गर्नका लागि एकढिक्का भएर विगतमा भएका गल्ती कमजोरीलाई सच्याउन ढिला गर्नु हुँदैन भन्ने अनुरोध गर्दछु’, नेता भण्डारीले भनेका छन् ।
पूर्वमन्त्री भण्डारीले भने, ‘हाम्राबीचमा कैयन विमतीहरू होलान तर, राष्ट्रिय एकता दिवसको यस विशेष दिनमा सबै विमतिलाई बिर्सिएर हामी नेपाली हौं ।’
‘हाम्रो एकमात्र लक्ष्य नेपाल र नेपालीको हित हो भन्ने तथ्यलाई मनन गर्दै एकसाथ अघि बढन प्रेरणा मिलोस भन्ने कामना गर्दछु’, उनले भने ।
‘राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीले नेपालको शान्ति, समृद्धि, एकता, भातृत्व र राष्ट्रभावमा योगदान गर्नेछ भन्ने विश्वास लिएको छु’, नेता भण्डारीले भनेका छन् ।
यसैबीच, कांग्रेस नेता भण्डारीले आफ्नो सम्पर्क कार्यालयमा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्णपण गरेका छन् । उनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धा प्रकट गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया