सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटीले सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।

बिहीबार ३ जनालाई पक्राउ गरेको ब्यूरोले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ पर्नेहरूमा रौतहटको चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारी, चितवनको भरतपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरीको बोदेबरसाइन नगरपालिका–६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदीशप्रसाद यादव रहेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउमध्ये कृष्णप्रसाद भन्ने बिहानी बहादुरले फेसबुकमा साथी बनी कुराकानीको क्रममा आदान प्रदान गरिएका गोप्य तस्विरहरू रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको अभियोग लागेको छ ।

रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदान प्रदान गरिएका गोप्य तस्विरहरू पीडकले अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बर सहित ह्वाट्स एप ग्रुपमा सेयर गरी दुःख हैरानी दिएको खुल्न आएको ब्यूरोले जनाएको छ ।

लक्ष्मण यादव भन्ने जगदीशप्रसादले फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्विर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको घटनामा साइबर ब्यूरोमा मुद्दा दर्ता भई फरार रहेका थिए ।

उनलाई वैदेशिक रोजागरीको क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

कृष्णप्रसाद भन्ने बिहानीबहादुर र रूपक शर्मा उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदीशप्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिने साइबर ब्यूरोले जनाएको छ ।

Published : Saturday, 2024 December 7, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया