हेटौँडामा ठूलो परिमाणमा अबैध सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मंगलबार विशेष सूचनाको आधारमा प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टबाट सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताएका छन् ।
बिहान करीव सवा ९ बजे बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६ नम्बरको यात्रुबाहक ईभी माईक्रोलाई चेकजाँच गर्दा सुनसहित भारतीय नागरिक पक्राउ गरेका थिए ।
भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवा बस्ने वर्ष ३४ का सुजित सर्राफको साथबाट सुन जस्तो देखिने धातुसहित पक्राउ गरिएको एसपी खड्काले बताए । सर्राफले सुनलाई आफ्नो खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो ।
बिल बिजक नभएको अबैध भन्सार छलि ल्याइएको सुन जस्तो देखिने पहेलो धातुको बिस्कुटको आकारको टुक्रा ४ थान, बिस्कुटको सानो टुक्रा १ थान, सिक्री १ थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम बरामद भएको छ ।
बरामद भएको सुनको प्रारम्भीक मूल्य ६७ लाख ३४ हजार ५ सय ४४ रुपियाँ रहेको छ । पक्राउ परेका सर्राफलाई सुनसहित कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाउने तयारी भइरहेको छ ।
एसपी खड्काले सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मेवारी सम्हालेका थिए । खड्काले जिम्मेवारी लिएको केही घण्टामै अबैध सुन र मानिस पक्राउ परेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया