४२ लाखको च्याङ्ग्रा चोर

पोखरा । च्याङ्ग्राको रकम नदिई भागेका मोहम्मद फकिरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

फकिरलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । च्याङ्ग्राको रकम ४२ लाख दिनुपर्नेमा नदिई च्याङ्ग्रासहित फकिर सम्पर्कविहीन भएका थिए ।

फकिरलाई पोखरा महानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ मासवार बस्ने वर्ष ५० को फकिर अरू दुई जना साथीसहित मुस्ताङ गएका थिए ।

फकिरले असोज २ गते पोखरा–२५, घट्टेखोलाबाट च्याङ्ग्रा बिक्री गरी अरू नै सवारीमा पठाएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताएका छन् ।

असोज १ गते निजी कारमा मुस्ताङ पुगेका फकिरले मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ का किसान ताक्ला गुरुङका च्याङ्ग्रा किनेर पोखरा पुगेपछि पैसा दिने सर्तमा ल्याएका थिए ।

च्याङ्ग्रा धनी ताक्ला गुरुङसमेत पैसा लिन सँगै पोखरा आएका थिए । पोखरा आइपुगेपछि ड्यामसाइडको होटलमा गुरुङ सुतिरहेको अवस्थामा फकिर सम्पर्कविहीन बनेका थिए ।

Published : Wednesday, 2024 September 25, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया