यती एयरको दुर्घटनाअघि पाइलट र कोपाइलटबीच भएको अडियोमा लापरवाही सुनियो : सोविता गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छिन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद गौतमले १४ दिनको अन्तरालमा दुई ठूला हवाई दुर्घटना हुनुले पनि यसको पुष्टि गरेको बताइन् ।
‘मन्त्रालय सम्हालेका मन्त्रीहरूलाई पटकपटक सोधेको छु’, गौतमले भनिन्, ‘नेपाल हवाई उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन लागि नागरिक उड्ययन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा कहिले छुट्टयाउनुहुन्छ, विधेयक कहिले ल्याउनुहुन्छ ? भनेर ।’
‘मन्त्रीहरू पटकपटक फेरिनुभयो विधेयक संसदमा आएको छैन’, सांसद गौतमले भनिन् ।
यती एयरलाइन्सको दुर्घटनाअघिको पाइलट र कोपाइलटको अडियो सार्वजनिक भएको र त्यसमा त्यसमा लापरवाही भएको प्रष्ट सुन्न सकिने सांसद गौतमले बताएकी छिन् ।
उनले भनिन्, ‘कतिजना हवाइ यात्रुहरूले विमानमा ज्यान गुमाउनुपर्ने हो ? नेपालको नियामक निकायको रेगुलेटरी फेल भएको प्रष्टसँग देखिएको छ ।’
‘मन्त्रीज्यूले हवाइ उड्डयनलाई सुरक्षित बनाउन के गर्नुपर्ला भनेर सुझाव पनि माग्नुभएको रहेछ’, उनले भनिन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षा बनाउन ध्यान दिन नसकिरहेका बेला सांसद गौतमले पुनः संसदमा आवाज उठाएकी छिन् । अधिकारीलाई असक्षम महानिर्देशकको आरोप लागेका बेला सांसद गौतमले प्राधिकरणलाई टुक्र्याउनु पर्ने बताएकी हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया