नयाँ सरकार बनेसँगै राजनीतिक स्थायित्व हुन्छ कि भन्ने आशाहरू पलाएको छ : विनाेद चाैधरी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ सरकार बनेसँगै अब राजनीतिक स्थायित्व हुन्छ कि भन्ने आशाहरू पलाएको बताएका छन् ।
सोमबार वीपीनगर, ललितपुरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा चोधरीले लामो अस्थिरताको चक्रब्यूहबाट देश बाहिर आएको भन्ने दृष्टीकोणबाट जनताले लिएको बताएका छन् ।
‘कांग्रेस र एमालेबीच भएको सहमति अनुसार सरकार अगाडि बढ्यो र हाम्रा अन्तरविरोध हटाउन सकियो भने यो पक्कै पनि मुलुककै लागि खुसीको समय हुनेछ’, उनले भने ।
‘त्यसको लागि अर्थतन्त्रलाई राजनीतिको केन्द्रविन्दु बनाउनु पर्दछ’, उनले भने, ‘आज म यसै सेरोफेरोमा देशले भोगिरहेका गम्भीर विषयहरूको चर्चा गर्न गइरहेको छु, तिनको व्यवस्थापन गर्न सकियो भने मात्रै हामी श्रीलंका र बंगलादेशको नियतिबाट देशलाई जोगाउन सकौंला भन्ने मलाई लाग्दछ ।’
नेता चौधरीले भने, ‘करिव एक करोडको हाराहारीमा नेपालीहरू देश बाहिर छन्, तिनहरूमध्ये अधिकांशको खुसीले होइन, बाध्यताले विदेशिएका हुन् । परिवारबाट टाढिएको स्थिति छ । यसले अनगिन्ती सामाजिक समस्या र द्वन्द्व सिर्जना गरेको हामी सबै माझ जगजाहेर नै छ ।’
‘वार्षिक डेढ लाखभन्दा बढि विद्यार्थी देशबाहिर जाँदैछन् । यसबाट डेढ खर्बभन्दा बढि विदेशी मुद्रा नेपालबाट बाहिरिने गरेको छ’, उनले भने, ‘त्यतिमात्र होइन, देशको सबैभन्दा महत्वपूर्ण अंश जसको काँधमा भोलिको नेपालको जिम्मेवारी टिकेको छ, त्यो फर्केर नेपाल आउन चाहँदैन ।’
उनले भने, ‘जाने बेलामै नफर्किने मानसिकता बोकेर देश छोड्छ । र, यो पनि भनौं कि यसले विदेशमा कस्तो गुणस्तरको शिक्षा प्राप्त गरिरहेको छ भन्नेमा हामीले कत्ति पनि ध्यान दिन सकेका छैनौ ।’
‘सरदर २० प्रतिशत बृद्धि हुने राजश्व दुई वर्षदेखि स्थिर छ । यसले अहिलेको खुम्चिएको अर्थतन्त्र र आर्थिक गतिविधिलाई प्रष्टसँग इंगित गर्दछ । यो त्यसैको प्रमाण हो’, सांसद समेत रहेका नेता चौधरीले भने ।
उनले भने, ‘नयाँ लगानीका जतिसुकै आँकडा बाहिर आएपनि पुराना लगानीहरूलाई जेनतेन सम्पन्न गर्नेबाहेक नयाँ लगानीको सुरुवात हुन नसकेको कुरा हालै सम्पन्न लगानी सम्मेलनले पनि देखाएको छ ।’
‘भ्यालू चेन र सप्लाइ चेन विखण्डित छ । राजश्व घटेको छ । निर्यात घटेको छ । अनि आयात पनि घटेको अवस्था छ’, उनले भने, ‘उत्पादन, राजश्व र आयात घट्नुले खपत घटेको कुरालाई प्रष्टसँग देखाउँछ ।’
उनले भने, ‘घट्दो राजश्व त्यसैको नियति हो । अझै पनि हामीले यो कुरालाई गम्भीर रुपमा लिएर हाम्रा राजश्वका दरहरुलाई उत्पादन बढाउनेतर्फ प्राथमिकता दिनुको साँटो सरकार अन्य विभिन्न दलीलका आधारमा व्याख्या गर्ने काममा लागेको पाउँछु ।’
‘यो देशको ठूलो पार्टी, लामो इतिहास भएको पार्टी अहिले पनि स्थानीय तहदेखि केन्द्रसम्म पहिलो पार्टी हो कांग्रेस’, उनले भने, ‘पटक पटक भएका राजनीतिक आन्दोलनको मात्रै नभई आर्थिक विकासको नेतृत्व गरेको हाम्रो पार्टीको आर्थिक नीति र दृष्टीकोण के हो भन्ने कुरा अस्पष्ट छ ।’
उनले भने, ‘कांग्रेस दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिने कुरामा अलमलिएको हो कि भन्ने देखिन्छ । यसका लागि पार्टीको स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ।’
‘८० प्रतिशतभन्दा बढि लगाानीको अभिभारा बोकेको निजी क्षेत्र यतिबेला अत्यन्तै निराश छ, त्रसित छ’, चौधरीले भने, ‘कुन पार्टीले निजी क्षेत्रको आकांक्षा, सपना र भोलिको नेतृत्व गर्दैछ भन्ने कुरामा अन्योल छ ।’
उनले भने, ‘निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ? कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ ।’
‘कृषिको उत्पादन दिनप्रतिदिन कम हुँदै जाँदा जीडीपीमा यसको अंश २५ प्रतिशत घटेको छभने कृषिमा निर्भर जनसंख्याको अनुपात अझै ५० प्रतिशतभन्दा बढि छ’, चौधरीले भने ।
‘यसले कृषि क्षेत्रमा जोडिएका जनताहरूको अवस्था कमजोर बन्दै गएको तथ्यलाई स्थापित गर्दछ । कृषिसँग प्रत्यक्ष जोडिएको मल समयमै नपाउनुपर्ने परिस्थिति आउनु दुर्भाग्य हो’, उनले भने, ‘मलको अभाव कहिल्यै हुन नदिन पेट्रोलियम पद्धार्थमा जस्तै सिधै जिटुजीमार्फत् आयात गर्ने व्यवस्था हुन सक्यो भने प्रत्येक वर्ष हुने मलको अभावलाई रोक्दछ ।’
‘एकातर्फ कुल बजेट रकममध्ये विकास खर्च पनि भनिने पुँजीगत खर्चको अनुपात ज्यादै न्यून छ’, चौधरीले भने, ‘हालसालै सदनबाट पारित बजेटमा पनि विकास खर्च पनि भनिने पुँजीगत खर्चमा रु ३ खर्ब ५२ अर्ब मात्र विनियोजन भएको छ ।’
उनले भने, ‘अर्कोतर्फ विनियोजित रकमको खर्च पनि दयनीय रहेको छ । कतिपय मन्त्रालयले विनियोजित पुँजीगत बजेट मध्ये २० प्रतिशत पनि खर्च गर्न नसकेका समाचारहरू हामीले पढी नै रहेका छौं ।’
‘ठूला ठूला परियोजनाको काम अपेक्षाकृत हुन नसक्नु र नयाँ क्षेत्रमा लगानी हुन नसक्नु नै यसको प्रमुख कारण हो’, उनले भने, ‘स्थानीय तहमा प्रत्यक्ष जाने अनुदान बजेटकै भरमा जे जति स्थानीय तहले साना तिना विकासका काम गरिरहेको छ, त्यसले सानै रुपमा भएपनि देशको अर्थतन्त्रलाई चलायमान बनाउन योगदान दिएको छ ।’
चौधरीले भने, ‘ठूलो क्षेत्रमा अपेक्षाकृत काम हुन सकेको छैन । जसमा सरकारको मूल ध्यान जानुपर्ने हो ।’
‘त्यसकारण अब हाम्रो पार्टीको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ परिभाषित गर्ने बेला आएको जस्तो मलाई लाग्दछ’, चौधरीले भने, ‘हाम्रा पार्टीका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले उतिबेला भन्नुभएको उत्पादन बिनाको वितरणले समाजवाद ल्याउन सक्दैन भन्ने कुरा यति बेला प्रमाणित भइसकेको छ ।’
उनले भने, ‘त्यसैले म त उहाँलाई नेपाली समाज र माटो बुझेको दार्शनिकका रुपमा पनि लिन्छु । अब हामीले उहाँका दर्शनलाई आत्मसात गर्दै अहिलेको समयसापेक्ष समाजवादको नयाँ परिभाषा गर्नुपर्ने बेला आएको छ ।’
‘निजी क्षेत्रसँग, उत्पादकहरूसँग र किसानहरुसँगका हाम्रा अन्तरसम्बन्धका आधारहरू के के हुन् ? हामीले बनाउन खोेजेको नेपालको खाका कस्तो हो ? बेरोजगार युवाहरू, निराश जनता, मल नपाउने किसान, उद्योगधन्दा चलाउनै नसक्ने परिस्थितिबाट गुज्रिरहेका उद्यमी व्यवसायीहरूका अगाडि कस्तो नेपालको खाका पस्किने हो ? त्यसको स्पष्ट दृष्टिकोण ल्याउने बेला भएन र ?’, उनले प्रश्न गरेका छन् ।
नेता चौधरीले भने, ‘यो केन्द्रीय समिति बैठकमा यी तमाम विषयमा गहन छलफल र विचार विमर्श होस् भन्ने म चाहन्छु ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया