दश वर्ष कैद भुक्तान गरी आएका सम्बरबहादुरको नयाँ कथा, ईन्दिरा पनि परिन्

काठमाडौं । बेचबिखन गर्ने उद्देश्यले नाबालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झुक्यानमा पारी बेचबिखन गर्ने उद्देश्यले एक नाबालिकालाई भारततर्फ लैजान खोजेको अभियोगमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोटको तादी गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–२ बस्ने ३३ वर्षीया ईन्दिरा कटुवाल (तामाङ) रहेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छन् ।

नाबालिकालाई बेचबिखन गर्ने उद्देश्यले काठमाडौंबाट मकवानपुर हुँदै भारततर्फ लैजान काठमाडौं फुटुङबाट ललितपुरको सुनाकोठी पु¥याएको भन्ने सूचनाको आधारमा मानब बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले प्रहरी वृत्त चापागाउँसँगको समन्वयमा सुनाकोठीबाट पीडितको उद्दार गरी सम्बर बहादुरलाई शनिबार पक्राउ गरेको थियो ।

घटनामा संलग्न इन्दिरालाई आइतबार काठमाडौं टोखा नगरपालिका–२ बाट प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले पीडितलाई होटलमा वेट्रेसको काममा २० हजार रूपियाँ तलब दिने र पछि तलब बढाउँदै लैजाने प्रलोभन देखाएको, कोही कसैले सोधेमा आफ्नो वास्तविक नाम, थर, ठेगाना नबताउनु व्यक्तिगत परिचय खुल्ने कागजात देखाउनु परेमा अर्कै व्यक्तिको नागरिकता प्रयोग गर्नु भनी सिकाई सुनाकोठीसम्म पुर्‍याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउमध्ये सम्बरबहादुर यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी १० वर्ष कैद सजाय भुक्तान गरी २०८० वैशाखमा थुनामुक्त भएको खुल्न आएको छ ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Monday, 2024 June 10, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया