तुलसीपुरमा कोठाभित्र (पूर्व)पत्नीसँग आर्यनलाई भेटेपछि शालिकरामले दुबैलाई हाने खुडा

घोराही । दाङमा शालिकराम बुढाथोकीले टीका राउत र आर्यन थापालाई खुडा प्रहार गर्दा टीका राउतको मृत्यु भएको छ ।

शुक्रबार बिहान तुलसीपुर उप–महानगरपालिका वडा नं. ६ राप्ती टोलमा डेरा गरी बस्ने शालिकरामले शुक्रबार बिहान ८ बजेर ५० मिनटमा टीका र आर्यनलाई खुडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) रामबहादुर केसीले बताए ।

शालिकराम र टीका पति–पत्नी हुन् । शालिकराम र टीकाबीच सम्बन्ध बिच्छेद भएको प्रारम्भीक अनुसन्धानबाट जानकारी आएको एसपी केसीले बताए । खुडा प्रहार गर्ने शालिकराम नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरतका अमलदार हुन् । आर्यन पनि नेपाली सेना हुन् । आर्यन तुलसीपुरस्थित १९ नम्वर बाहिनीमा कार्यरत छन् । एसपी केसीले शालिकराम र टीकाबीच सम्बन्ध बिच्छेदको कुरा आएको सुनिएको बताउँदै तथ्य आएपछि यसबारेमा जानकारी दिने बताए ।

टीका र आर्यनबीच अनैतिक सम्बन्ध भएको थाहा पाएपछि शालिकरामलाई सैह्य हुन नसकेपछि खुडा प्रहार भएको हुन सक्ने प्रारम्भीक अनुमान प्रहरीको छ ।

सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३६ का शालिकराम बुढाथोकीले रुकुम (पूर्वी भाग) जिल्ला सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं. ६ राप्ती टोलमा डेरा गरी बस्ने वर्ष ३१ की टीका रावत र अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. ४ घर भई हाल तुलसीपुर उप–महानगरपालिका वडा नं. ६ राप्ती टोलमा बस्ने वर्ष २९ को आर्यन थापालाई खुडा प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

शालिकरामले खुडा प्रहार गरेपछि टीका रावत उक्त कोठाबाट भागी छिमेकीको घरमा लुकेको अबस्थामा फेला पारी खुडा प्रहार गरी टीका र आर्यन दुबैजनालाई घाइते बनाएका थिए । प्रहरीले घटनाको खबर ९ बजे प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई दुबै घाइतेलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको थियो ।

९ बजेर १५ मिनटमा चिकित्सकले टीका रावतलाई चेकजाँच गर्दा मृत घोषणा गरेको एसपी केसीले बताए ।

घाइते आर्यन थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको एसपी केसीले बताएका छन् ।

शालिकराम बुढाथोकीलाई खुडासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको एसपी केसीले बताएका छन् ।

Published : Friday, 2024 June 7, 11:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया