पवन कल्याणको दलसहित कंगना लगायतका कलाकारहरू निर्वाचित

नयाँ दिल्ली । भारतीय लोकसभा चुनावमा दक्षिण भारतीय चर्चित अभिनेता पवन कल्याणको दलसहितका कलाकारहरू विजयी भएका छन् ।

दक्षिण फिल्मका अभिनेता तथा फिल्म निर्मातासमेत रहेका पवल कल्याण आन्ध्र प्रदेशको विधानसभा चुनावमा निर्वाचित भएका छन् । पवन जनसेना पार्टीका प्रमुखसमेत हुन् ।

आन्ध्र प्रदेश विधानसभामा पवनको जनसेना पार्टी २१ सिटसहित दोस्रो ठूलो पार्टीका रूपमा खडा भएको छ ।

भारतीय जनता पार्टी (भाजपा)बाट उम्मेदवार बनेकी अभिनेत्री कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराएकी छिन् । कंगनाले हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी हुन् ।

तृणमूल कंग्रेसमा आएका अभिनेता शत्रुघ्न सिन्हाले पनि चुनाव जितेका छन् । सिन्हाले पश्चिम बंगालको आसन्सोल क्षेत्रबाट भाजपाका सुरेन्द्रजीत सिंह अहलुवालियालाई हराउँदै लोकसभा चुनाव जितेका हुन् । उनी २ वर्षअघि आसन्सोल क्षेत्रमा भएको उपचुनावबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए ।

सिन्हा अटल बिहारी वाजपेयी सरकारमा केन्द्रीय मन्त्रीसमेत बनेका थिए । सिन्हाले भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेस हुँदै तृणमूल कंग्रेसमा प्रवेश गरेका थिए ।

भोजपुरी फिल्मका अभिनेता मनोज तिवारीले पनि दिल्लीबाट चुनाव जितेका छन् । तिवारीले उत्तरपूर्वी दिल्ली क्षेत्रमा कांग्रेस नेता तथा जेएनयू छात्र संघका पूर्वसभापति कन्हैया कुमारलाई हराएका हुन् ।

अभिनेत्री हेमा मालिनी उत्तर प्रदेशको मथुराबाट लोकसभा सदस्यमा निर्वाचित भएकी छिन् । हेमाले कांग्रेस उम्मेदवार मुकेश धनगरलाई झन्डै ३ लाख मतको अन्तरले हराएकी हुन् ।

‘रामायण’मा रामको मुख्य चरित्र निभाएका अरुण गोविल पनि भाजपाबाट लोकसभा सदस्य निर्वाचित भएका छन् । उत्तर प्रदेशको मेरठबाट गोविलले समाजवादी पार्टीकी सुनिता वर्मालाई करिब १० हजार मतान्तरले हराएका हुन् ।

अभिनेता रवीन्द्र शुक्ला अर्थात रवि किशन पनि लोकसभा सदस्यमा निर्वाचित भएका छन् । रवि किशनले समाजवादी पार्टीकी काजल निशादलाई झन्डै १ लाख मतले हराउँदै गोरखपुर क्षेत्रबाट दोस्रो पल्ट सांसदमा विजयी भएका हुन् ।

Published : Wednesday, 2024 June 5, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया