सिङ्गारु र टप्पा नाच संरक्षणका लागि प्रतियोगिता, दार्मा, छत्रेश्वरी र बागचौरलाई उपाधि

सल्यान । मौलिक पहिचान रहेको सल्यानी टप्पा तथा सिंगारु नाच प्रतियोगिता सम्पन्न भएको छ ।

मौलिक पहिचानको रूपमा रहेको सिंगारु र टप्पा नाच संरक्षणका लागि प्रतियोगिताको आयोजना गरिएको हो । शनिबार सम्पन्न टप्पा नाच प्रतियोगितामा दार्मा गाउँपालिकाको समूह पहिलो भएको छ ।

छत्रेश्वरी गाउँपालिकाको समूह दोश्रो र बागचौर नगरपालिकाको समूह तेश्रो भएको आयोजक सामाजिक सेवा तथा सूचना केन्द्र, सल्यानका अध्यक्ष नोखिराम थापाले बताए ।

सिंगारु नाच प्रतियोगितामा बागचौर नगरपालिकाको समूह पहिलो, छत्रेश्वरी गाउँपालिकाको समूह दोश्रो र दार्मा गाउँपालिकाको समूह तेश्रो भएको छ ।

स्थानीय कला, हस्तकला, संस्कृति पहिचान, जगेर्ना तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत सामाजिक विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा प्रतियोगिता संचालन गरिएको थियो ।

दुबै नृत्य प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुने समूहलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार रूपियाँ र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा अन्य विभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, निर्णायकहरू वीरबहादुर सेजवाल, शक्ति चन्द, भद्रसिंह बुढा लगायतले धारणा राखेका थिए ।

उनीहरूले कला संस्कृति मेटियो भने आफ्नो गाउँठाउँको सान, मान सबै हराउने भएकाले मौलिक लोककला संस्कृति संरक्षणमा सबै जागरुक बन्नुपर्नेमा बताएका छन् ।

Published : Sunday, 2024 May 26, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया