रास्वपाबाट मन्त्री बनेकी सुमना श्रेष्ठसँग नगद ४ करोड रुपियाँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी सुमना श्रेष्ठको बैंक खातामा डेढ करोडसहित करीव ४ करोड रुपियाँ भेटिएको छ ।

मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४ करोड रुपियाँ पुग्छ ।

मन्त्री श्रेष्ठको एनआईसी एसिया बैंकको खातामा १ करोड १५ लाख रुपियाँ रहेको छ । एभरेस्ट बैंकमा ३७ लाख रुपियाँ रहेको मन्त्री श्रेष्ठले सम्पत्ति विवरणमा राखेकी छिन् । श्रेष्ठले यो रकम पारिश्रमिकबाट आएको दाबी गरेकी छिन् ।

मन्त्री श्रेष्ठका पति पोल्याण्डका नागरिक पावल स्वविन्स्कीको नाममा एक विदेशी बैंकमा १ लाख ८९ हजार ७०० डलर रहेको छ । डलरलाई नेपाली रुपियाँमा रुपान्तरण गर्दा २ करोड ४१ लाख रुपियाँ हुन आउँछ ।

पतिको नाममा पोल्याण्डको मुद्रा पनि १ लाख ८० हजार रुपियाँ रहेको छ । जसको नेपाली रुपान्तरण गर्दा ६१ लाख ३२ हजार रुपियाँ हुन्छ । विदेशी मुद्रा पतिका परिवारले दिएको सुमनाले खुलाएकी छिन् ।

शिक्षामन्त्री श्रेष्ठसँग काभ्रेको रियालेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा छ । मन्त्री श्रेष्ठले काभ्रेको जग्गा पारिश्रमिकबाट किनेको दाबी गरेकी छिन् ।

मन्त्री श्रेष्ठले विवाहमा उपहार पाएको १० तोला र हजुरआमाको शेषपछि पाएको १ तोला गरी ११ तोला सुन, विवाहमा उपहार पाएको १ सय तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप रहेको विवरण सार्वजनिक गरेकी छिन् । मन्त्री श्रेष्ठसँग एक थान स्कुटर, एक थान विद्युतीय गाडी पनि रहेको विवरणमा उल्लेख छ ।

Published : Tuesday, 2024 May 21, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया