औकातमा बस्न महान्यायाधिवक्तालाई सभापति खतिवडाको चेतावनी, प्रचण्ड-रविद्वारा राज्यको चरम दुरुपयोग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजा र पञ्चायतले पनि यो हदसम्म महान्यायाधिवक्तालाई दुरुपयोग नगरेको बताएका छन् ।

बुधबार ट्वीट गर्दै सभापति खतिवडाले सत्ता बचाउने बहानामा महान्यायाधिवक्ता कार्यालयलाई गृहमन्त्री रवि लामिछानेले दुरुपयोग गरेको बताए ।

उनले भने, ‘अहिलेसम्मकै ईतिहाँसमा नेपालमा यति लाजमर्दो तवरबाट महान्यायाधिवक्तालाई प्रयोग राजा र पञ्चायतले पनि गरेको थिएन ।’

‘कानूनी राज्यमा कालो धब्बा लगाउने काम सरकारले गर्दैछ’, उनले भने, ‘सत्ताका लागि धोती नखोल्नु होस् ।’

‘लाजले हामीलाई र तपाईंलाई सडकमा उत्तानो पार्नेतर्फ नलागौं’, सभापति खतिवडाले भनेका छन् ।

माओवादी केन्द्र निकटका अधिवक्ता समेत रहेका महान्यायाधिवक्ता दीनमणि पोखरेलले संविधान र कानून विपरित गृहमन्त्री लामिछानेलाई सहकारी ठगी काण्डमा क्लिन चिट दिएपछि विरोध भइरहेको छ ।

लामिछानेलाई बचाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यशक्तिको दुरुपयोग गरिरहेका छन् ।

गृहमन्त्री लामिछानेले पनि सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डबाट बच्न संविधान, कानून विपरितका हर्कतहरू गरिरहेका छन् ।

लामिछानेले राज्यका निकायलाई दुरुपयोग गरेको भनेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चिन्ता समेत जनाएको छ ।

Published : Thursday, 2024 May 9, 9:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया