कांग्रेसका शीर्ष नेताहरूको बैठक, गृहमन्त्री लामिछानेको सहकारी ठगी काण्डबारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुभन्दा दुई दिन अगाडि रणनीति बनाउन नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको छ ।

बुधबार दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको छ ।

वैशाख २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल केन्द्रित रहनेछ । कांग्रेसका मागलाई सरकारले पूरा गर्न अनिच्छा देखाएपछि संसदमा गतिरोध हुने सम्भावना छ ।

सहकारीको रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा संसदीय छानविन समितिको माग गर्दै आएको कांग्रेसले संसदलाई अबरोध गर्न सक्छ ।

संसदमा आफ्ना मागलाई पूरा गराउन कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारीको बैठक बोलाएका हुन् ।

गृहमन्त्री लामिछानेलाई संसदीय छानविन समिति बनाएर छानविन गर्न नपाइने भनेर एमालेका अध्यक्ष केपी ओलीले सबैभन्दा धेरै आवाज उठाउँदै आएका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार दिउँसो २ बजे बस्ने तय भएको छ । त्योभन्दा अगाडि पदाधिकारीको बैठक बोलाइएको छ ।

बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्दैछ ।

Published : Wednesday, 2024 May 8, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया