उपेन्द्रलाई अपदस्थ गरेर अशोकलाई मन्त्री बनाउन प्रचण्डलाई ओलीको दवाव, लात हान्न सक्ने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिएका छन् ।

ओलीले अशोक राईलाई उपप्रधानमन्त्रीसहित राम्रो मन्त्रालय दिन दाहाललाई दवाव दिएको उच्च स्रोतले जनाएको छ । उपेन्द्र यादवलाई मन्त्री पदबाट अपदस्थ गरेर भए पनि अशोक राईको समूहलाई सरकारमा सहभागी गराउनुपर्ने अडानमा ओली छन् । ओलीले उपेन्द्र यादवलाई छिटोभन्दा छिटो मन्त्रीबाट अपदस्थ गर्न प्रधानमन्त्री दाहालालई दवाव दिएको स्रोतले जनाएको छ । अशोक राईलाई सरकारमा सहभागी गराउने उद्देश्यका कारण अध्यक्ष ओलीले तत्काल काठमाडौं छाडेका छैनन् ।

माओवादी केन्द्रका नेताहरूले पनि अशोक राईको दललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको बताए ।

एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री दाहालको संरक्षणमा अशोक राईले जनता समाजवादी पार्टी, नेपाल (जसपा)लाई विभाजन गरेको आरोप छ । अशोक राईलाई सरकारमा सहभागी गराउन ओलीले दवाव दिइरहेका छन् ।

उता, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाई दिएको समर्थन यथावत राखेको छ । उपेन्द्र यादवले सबै जोखिमहरू मोलेर सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनताका बीच जानुपर्नेमा मन्त्री पदको लोभमा सरकारलाई समर्थन गरेर बसेको आरोप छ ।

मन्त्रीको लोभ नगर्न उपेन्द्र यादवलाई शुभेच्छुक र नेता कार्यकर्ताको सुझाव छ । उपेन्द्र यादवले पदमा लोभलालच गरेका कारण पार्टी पटक पटक विभाजन भइसकेको छ । तैपनि उपेन्द्र यादवको चेत खुलेको छैन ।

उपेन्द्र यादवका कारण मधेश प्रदेशको सरकार पनि जोखिममा परेको छ । केन्द्र सरकार छाड्ने हो भने उपेन्द्र यादवको मधेश प्रदेश सरकारलाई नेपाली कांग्रेसले आँखा चिम्लेर बचाइदिन्छ । लुम्बिनी प्रदेशमा पनि कांग्रेसले उपेन्द्र यादवको पार्टीलाई उपयुक्त स्थान दिन पनि तयार छ ।

Published : Tuesday, 2024 May 7, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया