सरकार हल्लिन थालेपछि रञ्जिता र आमा भेट्न अस्पताल पुगे प्रचण्ड

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठकी आमाको उपचार भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालमा पुगेर भेट गरेका छन् ।

गत शनिबार दाहालले रञ्जिताकी आमालाई अस्पतालमै पुगेर भेट गरेका हुन् । एमालेसँगको गठबन्धन बनाएपछि सरकार बचाउन निकै तिकडमहरू गरिरहेका दाहालले नाउपाकी सांसद रञ्जितालाई फकाउने उद्देश्यले अस्पताल पुगेर आमाको स्वास्थ्य अवस्थाको जानकारी लिएको चर्चा छ ।

यसैबीच, नाउपाकी सांसद रन्जिताले सामाजिक सञ्जालमा निकै निराशपूर्ण सन्देश लेखेकी छिन् ।

प्रधानमन्त्री दाहाल र आफ्नी आमा तथा नाउपाका सांसदहरूको तस्बिर राखेर लेखेकी छिन्, ‘मुद्दा । प्रतिवादी । पेशी । अदालत । वकिल फिस । आमा । अस्पताल अपरेशन । जिम्मेवारी । पद लालच लोभ बिक्री । मोल मोलाई ।’

रञ्जिताले लेखेकी छिन्, ‘तानाशाही प्रवृति । सांसदको टाउको देखाइ घरी उपप्रधान । घरी गठबन्धनलाई धम्काई । प्रधानमन्त्री । सासंदको टाउको गन्दै आफ्नो लागि मात्र पद खोज्दै हिँड्नु । सासंदको टाउको गन्दै मोल मोलाई गरेर आफ्नै सासंदलाई बेच्दै हिड्नुको नतिजा । घरी जापानी यनमा बेच । घरी अमेरिकी डलरमा ।’

सांसद रञ्जिताले प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष केपी ओली तथा आफ्ना पति रेशमलाल चौधरीप्रति लक्षित गरेर ती अभिव्यक्तिहरू दिएको चर्चा छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाग भएको दोस्रो दिन नाउपाकी अध्यक्ष समेत रहेकी सांसद रञ्जिताको सन्देशले हलचल ल्याइदिएको छ । रञ्जिताले दाहाल सरकारलाई सथर्मन गरेकी छिन् । गठबन्धनभित्र खटपट र सरकार ढल्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री दाहालले रञ्जिता र उनकी आमालाई अस्पतालमा पुगेर भेट गरेका हुन् ।

Published : Monday, 2024 May 6, 3:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया