कांग्रेसबाट टाढा हुँदा उपेन्द्रलाई घाटैघाटा, जहिले पनि ओली–प्रचण्डबाट धोका, फर्किदै सांसदहरू

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीको पछाडि लाग्दा जहिले पनि जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई नोक्सानी नै भएको छ ।

तैपनि जसपाका अध्यक्ष उपेन्द्र यादवको दिमागको बत्ती कहिल्यै पनि बल्न सकेको छैन । ओली झण्डै दुईतिहाईको बहुमतको सरकारको प्रधानमन्त्री हुँदा पनि जसपाका सांसदलाई अपहरण गरेर पार्टी फुटाउने प्रयास भएको थियो ।

तत्कालीन समयमा ओलीको हातबाट बालबाल जसपालाई फुट्नबाट बचाउन सफल भएका यादवलाईको उद्धार तत्कालीन समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिदिएका थिए । तर, अध्यक्ष यादवले कहिल्यै पनि कांग्रेस सभापति देउवालाई विश्वास लाग्ने गरेर साथ दिएनन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग गठबन्धन बनाउँदा लुसुक्क लागेर ओली र दाहालको पछाडि लागेर सरकारमा सहभागी भए । त्यसको फल अहिले जसपाका अध्यक्ष यादवले भोग्नु परेको छ ।

यसैबीच, अशोक राईतिर लागेको भनिएका सांसद र प्रदेश सभा सदस्यहरूले साथ दिएका छन् । मधेश प्रदेशका अधिकांश सदस्यहरू अध्यक्ष यादवकै पक्षमा देखिएका छन् ।

यता, अशोक राईतिर लागेको भनिएका सांसद दीपक कार्की पनि अध्यक्ष यादवको पक्षमा उभिएका छन् ।

वन तथा वातावरण राज्यमन्त्रीसमेत रहेका कार्की आफू अध्यक्ष यादवतिर रहेको बताएको सोमबार विज्ञप्ति जारी गरेर बताएका छन् ।

सांसद कार्कीले संस्थापन पक्षमै रहेको, अन्य कुनै दल वा गुटमा नलागेको बताएको छन् । कार्कीले भने, ‘सञ्चार माध्यममा आइरहेका समाचारहरूबाट अत्यन्त भ्रामक जानकारी सम्प्रेशन भइरहेकोप्रति यस सचिवालयको ध्यानाकर्षण भएको छ ।’

सांसद कार्कीका प्रमुख स्वकीय सचिव रामनारायण कापडीले भनेका छन्, ‘उहाँ जनता समाजवादी पार्टी नेपाल संस्थापन पक्षमा यथावत रहिरनुभएको र अन्यत्र भनेझैं कुनै गुट वा दलसँग आबद्ध नरहेको जानकारीका लागि अनुरोध छ ।’

अध्यक्ष यादवले मनोमानी गरेको आरोप लगाउँदै अशोक राईसहित प्रतिनिधि सभाका सात जना सांसदले पार्टी विभाजन गरेका छन् ।

अशोक राईसहित जसपाका नवलकिशोर साह, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान, सुशीला श्रेष्ठले दल विभाजन गरेका हुन् ।

उता, मधेश प्रदेशका अधिकांश प्रदेशसभा सदस्यहरू अध्यक्ष यादवको पक्षमा देखिएका छन् । सोमबार जसपा मधेश प्रदेश संसदीय दलको बैठक बसेको छ । बैठकले पार्टी विभाजनको भर्त्सना गरेको छ ।

प्रदेशसभा सदस्य रामअशिष यादवले पार्टी फुटको षड्यन्त्र गर्नेविरुद्ध भर्त्सना गर्दै अगामी दिनमा उपेन्द्र यादवको नेतृत्वमा रहेको संस्थापन पक्षलाई मजबुत गर्ने प्रयास गर्दै एकढिक्का भएर अघि बढ्ने निर्णय भएको बताएका छन् ।

मधेश प्रदेशसभाका १९ सदस्यहरूमध्ये सोमबारको बैठकमा सरोजसिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साह अनुपस्थित रहेका छन् ।

सरोजसिंह कुशवाहाले आफू अत्यन्त जरुरी काममा बाहिर रहेको बताएका छन् । अन्य दुई जनाको अनुपस्थितिको कारण भने खुलेको छैन ।

Published : Monday, 2024 May 6, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया