संविधान विपरित गण्डकीमा एमाले र माओवादीको नमूना हर्कत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेशसभाका सभामुख कृष्ण धितालले ३० मतलाई विश्वासको पाएको भनेर संविधान विपरित कीर्ते गरेर विश्वासको मत पाएको घोषणा गरिदिएका छन् ।

नेकपा (माओवादी केन्द्र)का सभामुख धितालले ३० मतलाई नै बहुमत घोषणा गरेर एमालेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन् । गण्डकी प्रदेशमा एमाले र माओवादीले संविधान विपरित नाङ्गो नाच देखाएका छन् ।

प्रदेशसभामा ६० सांसद छन् । यसका लागि बहुमत पुग्न ३१ सिट चाहिने भएपनि सभामुख धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका हुन् ।

नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा नाराबाजी गर्दै संविधान विपरितको कार्य गर्ने सभामुख धिताललाई कालोझण्डा देखाएको छ ।

एमालेका २२, माओवादीका ७ र १ जना स्वतन्त्र सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका छन् ।

मुख्यमन्त्री अधिकारीको विपक्षमा कांग्रेसका २७ जनाले मतदान गरेका छन् । राप्रपाका २ सांसद तटस्थ बसेका थिए ।

सभामुखले ३० मतलाई बहुमत घोषणा गरेपछि कांग्रेसका सांसदहरूले संवैधानिक मर्यादा कायम गर, असंवैधानिक प्रक्रिया मान्दैनौँलगायतका नारा लगाउँदै कालोझण्डासहित प्रदर्शन गरेका छन् ।

सभामुख धितालले निर्णायक अवस्थामा आफूले पनि मत हाल्न पाउने संवैधानिक व्यवस्था रहेको भन्दै सोही आधारमा संख्या ३० नै भएपनि बहुमत पुगेको जिकिरसहित मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

सभामुख धितालले असंवैधानिक बाटोबाट मुख्यमन्त्री अधिकारीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।

संघीयता बोझिलो र राम्रो काम हुन नसकेको भनेर बिरोध भइरहेका बेला गण्डकी प्रदेशमा एमाले र माओवादीले संविधानको हुर्मत लिने कार्य गरेका छन् । उनीहरूले संविधान विपरितको कार्य गरेका छन् ।

Published : Sunday, 2024 May 5, 9:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया