उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादव अमेरिकामा रहेका बेला जसपा विभाजन

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएको छ ।

आइतबार काठमाडौंमा बैठक बसेर जसपाका उपाध्यक्ष एवम् सांसद अशोक राईको नेतृत्वमा जसपा विभाजन भएको हो ।

७ जना सांसद र २९ जना केन्द्रीय सदस्यसहित जसपा नेपालबाट अलग भएको सांसद प्रदीप यादवले बताएका छन् ।

राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दिइएको छ ।

निर्वाचन आयोगमा सात सांसद र २९ जना केन्द्रीय सदस्यले सनाखत गरेको सांसद यादवले बताएका छन् । राई नेतृत्वको समूहको निवेदन दर्ताको प्रक्रियामा छ । पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) प्रस्ताव गरिएको छ ।

जसपा नेपालका अध्यक्ष यादव अमेरिका भ्रमणमा छन् । अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका वेला पार्टी विभाजन भएको छ ।
अमेरिका उड्नुभन्दा अगाडि मन्त्री समेत रहेका अध्यक्ष यादवले राजेन्द्र श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । श्रेष्ठ पनि राईको नयाँ दलतिर लागेका छन् ।

हाल प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । नयाँ दलमा अशोक राई, प्रदीप यादव, सुशीला श्रेष्ठ, रञ्जु झा, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी र समानुपातिक सांसद हसिना खान छन् । पार्टी विभाजन गर्नेमा नवलकिशोर साह सुडी सरकारमा वन मन्त्री छन् ।

सांसद यादवले नेतृत्व एकलौटी रूपमा चलेकाले जसपा नेपालबाट अलग भएको बताएका छन् । सांसद यादवले राई नेतृत्वको नयाँ दलले अहिलेकै गठबन्धनलाई समर्थन गर्ने बताएका छन् ।

सांसद सुशीला श्रेष्ठले पार्टीभित्र आन्तरिक लोकतन्त्र अभ्यास नभएकाले अलग्गिनुपरेको बताएकी छिन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी ओली र प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई विभाजन गरिदिएको आरोप लागेको छ ।

उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई पनि विभाजन गराउने खेल भइरहेका छन् ।

Published : Sunday, 2024 May 5, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया