गृहमन्त्री लामिछानेको ठूलो हस्तक्षेप, हेडक्वाटरमा बिचौलिया र दलाल हाबी, निकै निरिह बने आइजीपी

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर बिचौलिया र दलालहरूको कुरालाई धेरै विश्वास गर्न थालेपछि हेडक्वाटर नक्सालमा उच्च प्रहरी अधिकृतहरूमाझ ठूलो असन्तुष्टि बढेको छ ।

सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेसँग आँखा जुधाएर हेर्न पनि नसक्ने आइजीपी कुँवरले प्रहरी संगठनलाई कमजोर बनाएको आरोप छ ।

दलाल र विचौलियाहरूले आइजीपी कुँवरको नाम लिएर भट्टीपसलहरूमा ‘मैले फलानो ईन्स्पेक्टर, डीएसपी, एसपी वा प्रहरी कर्मचारीलाई यहाँ पठाएँ, त्यहाँ पठाएँ, समय नपुग्दै तान्न लगाएँ’ भन्ने जस्ता अभिव्यक्ति दिने गरेको चर्चा नक्सालमा छ । गृहमन्त्री लामिछानेको काँधमा बन्दुक राखेर बिचौलिया र दलालहरूले आइजीपीमार्फत प्रहरी संगठनभित्र उथलपुथल ल्याउन खोजेको भनेर इमान्दार उच्च अधिकृतहरू निकै चिन्तित बनेका छन् ।

आइजीपी कुँवरले आफ्नो जिम्मेवारी भुलेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा न्यायाधीशले जस्तै गरेर गृहमन्त्री लामिछानेलाई सहकारीको रकम ठगी प्रकरणमा निर्दोष घोषणा गरेपछि ठूलो आलोचना भएको थियो ।

लामिछानेको चाकढी गर्न आइजीपी कुँवरले सबै गतिविधि र हर्कतहरू गरिरहेका छन् । तैपनि गृहमन्त्री लामिछानेले कुँवरलाई धेरै नरुचाएको नक्सालस्थित उच्च स्रोतले जनाएको छ ।

आइजीपी कुँवरलाई भन्दा पनि एआइजी श्यामललाल ज्ञवालीलाई गृहमन्त्री लामिछानेले विश्वास गर्छन् । प्रहरीभित्र महत्वपूर्ण निर्णय लिँदा लामिछानेले ज्ञवालीसँग सरसल्लाह गर्ने गरेका छन् ।

केही दिन अगाडि गृहमन्त्री लामिछानेको आदेशमा आइजीपी कुँवरले सरुवा भएको दुई महिनाभित्रै एसपीहरूको सरुवा गरेर फिर्ता ल्याएका थिए । अडान राख्न नसकेको भनेर आइजीपी कुँवरको आलोचना भएको थियो । लामिछानेसँग डराएर थुरुरु भएका कुँवर मीठाइको पोको बोकेर थापाथलीतिर हिँडेका थिए । लामिछानेले आइजीपीलाई मीठाइ बोकाएपछि आफ्नो हैसियत र जिम्मेवारी भुलेको भनेर कुँवरको आलोचना भएको थियो ।

यसैबीच, आइजीपी कुँवरले बिचौलिाय र दलालहरूको सरसल्ला तथा दवावमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एसपी गोविन्दराज काफ्लेलाई पठाउन लागेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत एसपी काफ्लेलाई कुँवरले काजमा सिन्धुलीमा पठाउन लागेका हुन् ।

यसअघि सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई आइजीपी कुँवरले समय नपुग्दै सरुवा गरेका थिए । लामिछानेको आदेशमा आइजीपी कुँवरले २०८० फागुन २ मा सिन्धुलीमा सरुवा भएका एसपी शर्मा २ महिनामा सरुवा गरेका थिए ।

गृहमन्त्री लामिछानेको आदेशमा कुँवरले बारा, सर्लाही, धनुषा, रौतहट र बाँकेका एसपीलाई अवधि नपुग्दै सरुवा गरेका थिए । झापा, मोरङ, पर्सा, रुपन्देहीका एसपीलाई गृहमन्त्री लामिछाने र आइजीपी कुँवरले चलाएका छैनन् । उनीहरूले ती एसपीहरूलाई किन चलाएका छैनन् । रहस्यको विषय बनेको छ ।

जिल्ला ईञ्चार्ज वा प्रहरी कर्मचारीको सरुवा समय अगाडि नै गर्दा कारण खुलाउनु पर्छ । अन्यथा सरुवा गर्न पाइँदैन । गृहमन्त्री लामिछाने र आइजीपी कुँवर मिलेर जथाभावी सरुवा गर्दै आएका छन् । उनीहरूको यो कार्यले प्रहरी मुख्यालय हेडक्वाटरमा ठूलो असन्तुष्टि छ ।

Published : Saturday, 2024 May 4, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया