‘गुण्डा नाइके’को शैलीमा एमाले नेता बस्नेतले ताला फुटाएर कुर्सीमा बसे

विराटनगर । एमालेका नेता एवम् कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत ‘कृष्ण’ ताला फुटाएर कार्यालय प्रवेश गरेका छन् ।

गुण्डा नाइकेको अभियोग खेप्दै आएका एमालेका नेता बस्नेतले कार्यालयको ताला फुटाएर कार्यभार सम्हालेका हुन् ।

बिहीबार कार्यालयमा ताला लगाएर कर्मचारीहरू ओलम्पियन्स पुनर्मिलन तथा प्रथम स्पोर्टस सेलिब्रेटी कार्यक्रममा सहभागी हुन सुनसरीको इटहरी गएका थिए ।

उच्च अदालत विराटनगरको फैसलाबाट पुनर्बहाली भएका बस्नेतले बन्द रहेको कार्यालयको ताला फोरेर पदभार ग्रहण गरेका छन् ।

इटहरीमा ओलम्पियन्सहरूलाई स्वागत गर्दै वाकाथनको उद्घाटन गरिएको थियो ।

ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले गरेका छन् ।

सूचना नै जारी गरेर बोर्डको कार्यालयमा ताला लगाउँदै कार्यक्रममा सहभागी हुन कर्मचारीहरू गएका छन् ।

बोर्डको कार्यालयबाट प्रवाह गरिने सेवा बिहीबार बन्द रहने जानकारीसहितको सूचना सदस्यसचिव हंशराज वाग्लेले जारी गरेका थिए ।

कार्यालय नै बन्द रहेको पाइएपछि कार्यभार सम्हाल्न पुगेका बस्नेत अलमलमा परेका थिए । त्यसपछि स्थानीय प्रशासन र महानगरपालिकाको वडा कार्यालयका जनप्रतिनिधिको रोहबरमा ताला फुटाइएको थियो ।

Published : Thursday, 2024 May 2, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया