पत्नीको मोबाइलमा परपुरुषसँगको ४ मिनटको अडियो सुनेपछि दुर्घटना

काठमाडौं । परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आशंकामा ३५ वर्षीय सन्तोष परियारले आफ्नी पत्नी ३५ वर्षीया अनिसा चाहारको हत्या गरेका छन् ।

ओलखढुङ्गाको सिद्धिचरण नगरपालिका– ३ स्थायी ठेगाना भएका सन्तोषले पत्नी अनिसाको हत्यापछि प्रहरी समक्ष आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताएका छन् ।

सन्तोषले महानगरीय प्रहरी वृत्त बौद्धमा बुधबार बिहान ८ बजेर ४० मिनेटमा आत्मसमर्पण गरेका हुन् ।

सन्तोषले पत्नीको हत्या गरेको जानकारी गराएपछि प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डेको नेतृत्वमा टोली खटिएको थियो ।

काठमाडौं महानगरपालिका–६ भुवलडाँडामा रहेको छिरिङ लामाको घरको भुईँ तलामा रहेको डेरा कोठामा अनिसाको शव फेला परेको थियो । अनिसाको शव ओछ्यानमा मृत अवस्थामा भेटिएको थियो । शवलाई प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । मृतक अनिसाको अनुहार, निधार, पेट तथा छातीमा चोट देखिएको छ ।

पत्नीमाथि शंका लागेपछि सन्तोषले अनिसाको मोबाइलमा अडियो रेकर्ड सेट गरेका थिए । अनिसा पर पुरुषसँग बोलेको ४ मिनेटको अडियो सुनेर आफूलाई असह्य भएपछि कुटेर हत्या गरेको प्रहरी समक्ष प्रारम्भीक बयान दिएको एसपी अधिकारीले बताएका छन् ।

अनिसाले सन्तोषसँग तेस्रो विवाह गरेकी हुन् । सन्तोषले अनिसासँग दोस्रो विवाह गरेका थिए ।

दुई पटक कतार र मलेसिया गएर फर्केका सन्तोष पछिल्लो समय बौद्धस्थित भुवलडाँडामा बस्दै आएका थिए ।

Published : Thursday, 2024 May 2, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया