राप्रपाकी सांसद गीतालाई पक्राउ गर्न पुर्जी जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेतलाई पक्राउ गर्न प्रहरीले खोजी कार्य शुरु गरेको छ ।

सहकारी ठगीको कसूरमा बस्नेतलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले जिल्ला अदालत नवलपुरबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएको छ ।

छानविनका क्रममा रकम हिनामिनामा सांसद बस्नेत परेकी छिन् । उनीविरुद्ध प्रशस्त प्रमाणहरू प्रहरीले संकलन गरेको जनाएको छ ।

सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोडभन्दा धेरै रकम अपचलन गरेको अनुसन्धानमा खुलेको प्रहरी भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई पनि सहकारीको रकम ठगी गरेको अभियोग लागेको छ । लामिछानेमाथि संसदीय छानविन समितिको माग गरेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अबरोध गर्दै आएको छ ।

गृहमन्त्री लामिछानेले तत्कालीन समयमा ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गर्न गितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोर्खा मिडियामा सहकारीको करीव २ अर्ब रकम ठगी गरेर ल्याइ अपचलन गरेको आरोप छ । जीबी राई फरार छन् । ग्यालेक्सी टेलिभिजनका तत्कालीन निर्देशक लामिछाने गृहमन्त्री छन् ।

Published : Monday, 2024 April 29, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया