उप–निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा कांग्रेसले दियो धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम २ र बझाङको प्रदेश सभा क्षेत्र नं. १ मा सम्पन्न उप–निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

शनिबार सभापति देउवाले विज्ञप्ति जारी गरेर शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका छन् ।

‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु’, देउवाले भने ।

‘निर्वाचनमा सहभागी राजनीतिक दल, संचारकर्मी साथीहरूप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु’, उनले भने ।

‘मतदानमा मतदाताले जनाउनु भएको सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ’, सभापति देउवाले भने ।

‘यो उप–निर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने बिश्वास लिएको छु’, उनले भने ।

‘निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु’, देउवाले भने ।

उनले भने, ‘उप–निर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पु¥याएको छ ।’

शनिबार इलाम २ र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा उपनिर्वाचनका क्रममा मतदान भएको छ । रातभरि मतपेटीकाहरू संकलन गरेर आइतबारदेखि मतगणना हुनेछ ।

Published : Saturday, 2024 April 27, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया