कांग्रेस–एमालेका दोस्रो तहका नेताहरूबीच अचानक भेट, प्रचण्डमाथि कालो बादल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारभित्र खटपटका संकेतहरू आइरहेका बेला नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूबीच विभिन्न बहानामा भेटवार्ताहरू भइरहेका छन् ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमालेका महासचिव शंकर पोखरेलबीच अचानक भेटवार्ता भएको छ ।

विमानस्थलको आन्तरिक विशिष्ट कक्षमा लेखक र पोखरेलबीच कुराकानी भएको छ । त्यो भेटमा कांग्रेसका नेता चन्द्र भण्डारी र एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्ट पनि रहेका थिए ।

कांग्रेस र एमालेका नेताहरूबीच भेट जहाँ होस् वा जहिले होस् यसरी निरन्तर सौहार्दपूर्ण वातावरणमा कुराकानी हुनुलाई राजनीतिक स्थायित्वको सरकारका विषयमा टिकाटिप्पणी भइरहेका छन् ।

कांग्रेसका प्रमुख सचेतक लेखकले भनेका छन्, ‘काठमाडौंबाट महेन्द्रनगर आउने क्रममा काठमाडौं एयरपोर्टमा साथीहरूसँग भेटमा भलाकुसारी भयो ।’

कांग्रेस र एमालेका नेताहरूको विभिन्न बहानामा भइरहेका भेटवार्ता तथा परामर्शहरूले के संकेत गरेको छ आफ्नो ठाउँमा छ ।

तत्कालीन समयमा कांग्रेस र एमालेले एकले अर्कासँग भेटवार्ता, परामर्शहरू गरेका थिएनन् । अहिले आएर कांग्रेस र एमालेका नेताहरूबीच भइरहेका बाक्लै सम्वादहरूले प्रचण्ड सरकारमाथि कालोबादल घुम्न थालेको संकेतहरू दिन थालेको छ ।

दुई दिन अगाडि एमालेका महासचिव पोखरेलले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शशांक कोइरालासँग सामाजिक कार्यमा भएको भेटको तस्बिर सार्वजनिक गरेका थिए । यी र यस्ता भेट तथा तस्बिरहरूले के संकेत गरेको छ निकट भविष्यमा आउने नतिजाले परिणाम देखाउनेछ ।

कांग्रेस सभापति देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच विश्वासको वातावरण बनाएर दुई ठूला दल मिलेर देशलाई राजनीतिक स्थायित्व दिनुपर्ने विषयमा बलियो मत बन्दै गइरहेका बेला दोस्रो तहका भेटवार्ता भइरहेका छन् ।

एमालेले गोदावरीमा राखेको कार्यक्रममा सभापति देउवा सहभागी हुन, अध्यक्ष ओलीले भव्य स्वागत गर्नुले पनि केही संकेतहरू दिइरहेको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ओली र प्रधानमन्त्री दाहालप्रति असन्तुष्टि जनाउनुले पनि राजनीतिक उथलपुथल हुने संकेत देखाइरहेको छ । इलाम २ र बझाङ प्रदेश सभाको निर्वाचनपछि नयाँ राजनीतिक समीकरण बन्ने चर्चा चलेका पनि छन् ।

Published : Saturday, 2024 April 27, 2:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया