आगलागीका घटनाहरू र क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न स्थानमा भएका आगलागी र क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

शुक्रबार सभापति देउवाले विज्ञप्ति जारी गरेर आगलागीबाट मानवीय क्षति, जंगली जनावरको मृत्यु, घरगोठ जलेर क्षति भएका लगायतका घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले आगलागी नियन्त्रणका लागि सरकारसहित सबै पक्षसँग अनुरोध गरेका छन् ।

देउवाले भने, ‘हालै देशका महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पा लगायतका जिल्लाहरूमा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु, सयौं व्यक्ति घाइते, सयौं चौपायाको मृत्यु, घर, खाद्यान्न, लत्ता कपडा लगायतका भौतिक सम्पत्ति पूर्ण रुपले जलेर नष्ट तथा क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’

‘आगलागीको यो घटनाका कारण आफ्नो आवास गृह सहित धनसम्पत्ति गुमाउनु भएका परिवारजनहरूप्रति कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक सहानुभूति प्रकट गर्दछु’, उनले भने ।

सभापति देउवाले, ‘आगलागीमा परी जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

आगलागी भएका क्षेत्रहरूमा तत्काल आगलागी नियन्त्रण गर्न प्रभावकारी उपायहरू अवलम्वन गर्न सरकारसँग आग्रह गर्दै देउवाले आगलागीका कारण जलेर घाइते हुन पुगेकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन हुन पुगेका पीडित परिवारजनहरूलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रवन्ध गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

‘आगलागी प्रभावित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहमा एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनको कार्यमा सहयोग पु¥याउन निर्देश गर्दछु’, सभापति देउवाले भने ।

Published : Friday, 2024 April 26, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया