युएईबाट मान्छे पक्राउ पर्छ, गृहमन्त्रीका पूर्व पार्टनर मलेसियामा लुकेका जीबी राई भेटिदैन

काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार कमल विश्वकर्मा युएईबाट पक्राउ गरेर ल्याएको छ ।

विश्वकर्मा वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएपछि फरार भएका थिए ।

बाँकेको खजुरा गाउँपालिका–२ सीतापुर बस्ने विश्वकर्मा पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।

एनसिबी अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका विश्वकर्मालाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।

वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि बैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपश्चात एनसिबी काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।

युएई जस्तो देशबाट रेड नोटिस जारी भएका व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेर ल्याउन सक्छ । तर, मलेसियामा लुकेर बसेका सहकारी ठगीको अभियुक्त गितेन्द्रबाबु राई (जीबी)लाई पक्राउ गरेर ल्याउन समस्या रहेको गृहमन्त्री रवि लामिछानेले सार्वजनिक रुपमा बताएका छन् ।

सरकार र नेपाल प्रहरीले चाहने हो भने रेड नोटिस जारी भएको व्यक्तिलाई संसारको कुनै पनि कुनाबाट पक्राउ गरेर ल्याउन सकिन्छ । नेपाल प्रहरीले इन्टरपोलमार्फत जीबी राईको भन्दा कठिन काम पनि फत्ते गरेको छ ।

जीबी राई गृहमन्त्री लामिछानेका पूर्व पार्टनर हुन् । राई र लामिछाने सहकारीको रकम अपचलन गरेको अभियोगमा मुछिएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारीको रकम ठगी र अपचलनको विषयमा संसदीय छानविन समितिको माग गरिरहेको छ । कांग्रेसले संसद समेत अबरुद्ध गरिसकेको छ । तर, जीबी राईलाई मलेसियाबाट पक्राउ गरेर ल्याउने विषयमा बिलम्ब भएको भन्दै आलोचनाहरू भइरहेका छन् । लामिछाने संसदीय छानविन समितिको विपक्षमा छन् ।

Published : Thursday, 2024 April 25, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया