फरार सूचीमा रहेका दावा लामा काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ ।

कार्यालयका प्रमुख (एसएसपी) सोमेन्द्रसिंह राठौरले लामालाई बुधबार काठमाडौंबाट पक्राउ गरेको जनाएका छन् । लागुऔषध खैरो हिरोइनको कारोबारको अभियोगमा अदालतले लामालाई ५ वर्ष कैद र ५ हजार जरिवाना गरेको थियो ।

पुनरावेदन अदालत पाटनले २०६४ साल जेठ २० गते लामाविरुद्ध सजाय सुनाएको थियो । लामा फरार सूचीमा थिए ।

पुनरावेदन अदालत पाटनको उक्त निणर्यविरुद्ध दावा पुनरावेदन लिएर सर्वोच्च अदालत गएका थिएनन् । सर्वोच्च अदालतले गत माघ १२ गते काठमाडौं जिल्ला अदालतलाई लेखेको पत्रमा उच्च अदालत पाटनको फैसला अन्तिम भई बसेको र लामाले सर्वोच्चमा पुनरावेदनको निवेदन नदिएको उल्लेख गरेको थियो ।

झन्डै १७ वर्षअघि भएको फैसलामा ५ वर्ष सजाय भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् । फरारको सूचीमा रहेका लामा एन्फामा छिरेका थिए ।

प्रहरीको टोलीले २०६१ साउन ८ गते लामालाई ५ ग्राम ब्राउन सुगरसहित बालाजुबाट पक्राउ गरेको थियो । त्यसको एक महिनापछि जिल्ला अदालतले लामालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

२०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए । फैसला हुँदा उनी झन्डै १० महिना जेल बसिसकेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो । फैसलाविरुद्ध लामा सर्वोच्च अदालत नगएपछि त्यही सजाय अन्तिम ठहर हुन पुगेको थियो ।

Published : Wednesday, 2024 April 17, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया