अरुण-४ मा सौरभ र उनका २ साथीले गरेको अपराध, १२ वर्षपछि काँकडभिट्टमा पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी पक्राउ ३० वर्षीय सौरभ तामाङलाई पक्राउ गरेको छ ।

अरुण गाउँपालिका वडा नं. ४ घर भएका सौरभ तामाङ र उनका दुई साथीहरूले अरुण गाउँपालिका वडा नं. ४ कै सीताराम राईलाई २०६८ माघ ७ गते घरमै पुगेर हत्या गरेको प्रहरीले जनाएको छ ।

सौरभसहित ३ जनाको समूहले २०६८ साल माघ ७ गते आफ्नै घरको आँगनमा बाँसको चोया काट्दै गरेका सीताराम राईलाई कुटपिट गरेर हत्या गरेका थिए ।

सीताराम राईले सौरभ र अन्य दुई जनालाई चामल चोरीको आरोप लगाएको र छलफलका लागि बोलाउँदा नआएपछि उनीहरूले सीतारामलाई धारिलो हतियार खुकुरी, लाठी, ढुङ्गा प्रहार गरेर हत्या गरी फरार भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका सीतारामको घटनास्थलमा मृत्यु भएको थियो । सीताराम राईको हत्या भएपछि जुद्धबहादुर राईले प्रहरीमा सौरभ तामाङसहित ३ जनाविरुद्ध कर्तव्य ज्यान मुद्धामा जाहेरी दिएका थिए ।

घटना पश्चात सौरभसहित ३ जना प्रतिवादीहरू फरार भएका थिए । उनीहरूलाई प्रहरीले खोजतलास जारी राखेको थियो ।

सौरभ तामाङ तराईका जिल्लाका विभिन्न स्थानमा केही वर्ष लुकिछिपी बसेका थिए । त्यसपछि सौरभ भारतमा ५/६ वर्ष बसेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय झापाको काँकडभिट्टा बजार असपासमा लुकिछिपी बसेको सूचनाका आधारमा भोजपुरबाट खटिएको प्रहरीले सौरभलाई १२ वर्षपछि २०८० चैत २१ गते पक्राउ गरेर ल्याएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

फरार रहेका अन्य दुई जना प्रतिवादीहरूको भोजपुर प्रहरीले खोजतलास जारी राखेको जनाएको छ ।

सीताराम राईको हत्या अभियोगमा भोजपुर जिल्ला अदालतले २०७७ फागुन २३ गते सौरभ तामाङ र उनका दुई साथीहरूलाई जन्मकैद (२० वर्ष) सजाय सुनाएको छ ।

Published : Friday, 2024 April 5, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया