सर्लाहीमा पार्वतीको हत्या गरेर भागेका प्रमोद बोरासहित यसरी पक्राउ परे

काठमाडौं । सर्लाही जिल्लामा ७० वर्षीया पार्वतीकुमारी महतो भन्ने पार्वती देवीको हत्या अभियोगमा ३९ वर्षीय प्रमोद झा भन्ने प्रमोद चौधरी पक्राउ परेका छन् ।

बागमती नगरपालिका वडा नं. ४ जंगल टोल बस्ने बौधु महतोकी पत्नी पार्वतीलाई प्रमोदले चैत २० गते साँझ करीव सवा ६ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले बताए । हत्याको सूचना पाउनेवित्तिकै एसपी ज्ञवालीले टोली खटाएर अपराधी पत्ता लगाउन रेकी गरेका थिए ।

पार्वतीको हत्या गरेर भाग्दै गरेका प्रमोदलाई चैत २१ गते बिहान करीव सवा ७ बजे बागमती नगरपालिका वडा नं. १ स्थित नहरको बाटो हुँदै भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रमोदले पार्वतीको टाउकोमा घनले हानेर हत्या गरेको एसपी ज्ञवालीले बताए ।

प्रमोद रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं. ५ नरकटिया बस्ने बिक्रम चौधरीका छोरा हुन् ।

प्रमोदले पार्वतीको हत्या गरेपछि घरमा रहेको १ बोरा धान बोकेर हिँडेका थिए । बागमती नगरपालिका वडा नं. ४ स्थित घिमिरे चोकमा रहेको किराना पसलमा प्रमोदले धान बिक्री गर्न खोजेका थिए । पसलमा प्रमोदले ल्याएको धान किन्न अस्वीकार गरेका थिए ।

चोकमा रहेको सिसिटिभी फुटेजको आधारमा पार्वतीको हत्या आरोपी प्रमोदलाई पक्राउ गरिएको एसपी ज्ञवालीले बताए । ज्ञवालीले भने, ‘हत्याका आरोपित प्रमोद झा भन्ने प्रमोद चौधरीको साथबाट १ बोरा धान पनि बरामद भएको छ । प्रारम्भीक अनुसन्धानबाट प्रमोद चौधरी लागुऔषध सेवन गर्ने व्यक्ति भएको खुल्न आएको छ ।’

आफ्नो डेरा कोठामा खानाखान जाने क्रममा अस्थाइ प्रहरी पोस्ट जिरायत सर्लाहीमा कार्यरत प्रहरी सहायक हवल्दार बिसम विश्वकर्माले पार्वतीको हत्या भएको सूचना पाएका थिए ।

बाटोको छेउमा रहेको पार्वतीको घरमा मानिसहरू भेला भएको र पार्वतीको शव घरको पालीमा रहेको विश्वकर्माले देखेपछि मातहतलाई खबर गरेका थिए । प्रारम्भीक अनुसन्धानपछि प्रहरीले पार्वतीको शवलाई पोस्टमार्टमका लागि पठाइएको थियो ।

अनुसन्धानका क्रममा पार्वतीको घरमा ७ बोरा धान रहेकोमा १ बोरा भेटिएको थिएन । धानले भरिएको बोरा लिएर प्रमोद हिडेका थिए ।

प्रमोदलाई जिल्ला अदालत सर्लाहीमा पेस गरेर प्रहरीले ५ दिनको म्याद थप गरेको छ । प्रमोदविरुद्ध ज्यानसम्बन्धी कसूर (कर्तव्य) शीर्षकमा अनुसन्धान गरिरहेको एसपी ज्ञवालीले बताएका छन् ।

Published : Thursday, 2024 April 4, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया